नोबेल मेडिकल कलेजको सहकार्यमा हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा–दन्त शिविर

मोरङ । विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित हिमालय इङ्गलिस स्कुलमा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा एकदिने निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ।

मोरङ क्षेत्र नम्बर ३ का पूर्व सांसद डा. सुनिल शर्माको अगुवाइ तथा नोबेल मेडिकल कलेजको सहकार्यमा आयोजित शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।

विद्यालय परिसरमै आयोजना गरिएको शिविरमा नोबेल मेडिकल कलेजका आँखा तथा दन्त रोग विशेषज्ञ चिकित्सकहरू सहभागी भएका थिए। चिकित्सकहरूले सेवाग्राहीको आँखा तथा दाँत परीक्षण गर्नुका साथै समस्या देखिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परामर्श र थप उपचारका लागि सुझावसमेत दिएका थिए।

विशेषगरी बालबालिकामा बढ्दै गएको दृष्टिसम्बन्धी समस्या, लामो समय मोबाइल तथा कम्प्युटर प्रयोग गर्दा आँखामा पर्न सक्ने असर, दाँतमा किरा लाग्ने, गिजा तथा दन्तसम्बन्धी समस्याबारे चिकित्सकहरूले सचेत गराएका थिए।

नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहालले विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई लक्षित गरी स्वास्थ्य परीक्षण र सचेतना प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए।

उनका अनुसार बालबालिकाले आँखामा समस्या भए पनि त्यसलाई सामान्य रूपमा लिने र दाँत दुखेपछि मात्रै उपचार खोज्ने प्रवृत्ति देखिने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक छ। विद्यालयमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुँदा समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने उनले बताए।

दाहालले भने, “बालबालिकाको समग्र स्वास्थ्यमा आँखा र दाँतको स्वास्थ्यको महत्वपूर्ण भूमिका हुन्छ। समयमै परीक्षण गरेर समस्या पहिचान गर्न सके भविष्यमा जटिलता हुनबाट जोगाउन सकिन्छ।”

यसैगरी हिमालय इङ्गलिस स्कुलका संस्थापक कमल खनालले विद्यार्थीको स्वास्थ्य र शिक्षालाई विद्यालयले समान प्राथमिकतामा राखेको बताए। स्वस्थ विद्यार्थीले मात्रै अध्ययन तथा दैनिक गतिविधिमा प्रभावकारी रूपमा सहभागिता जनाउन सक्ने भएकाले विद्यालयमै विशेषज्ञ चिकित्सक बोलाएर स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको उनको भनाइ छ।

“विद्यार्थी स्वस्थ भए मात्रै उनीहरूको पढाइ र दैनिक गतिविधि प्रभावकारी हुन्छ। त्यसैले विद्यालयमै विशेषज्ञ चिकित्सक बोलाएर आँखा तथा दाँत परीक्षण गर्ने व्यवस्था मिलाएका हौँ,” खनालले भने।

शिविरमा विद्यार्थी मात्र नभई शिक्षक तथा अभिभावकले समेत सेवा लिन पाएका थिए। विद्यालयमै निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध भएपछि नियमित स्वास्थ्य परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको सहभागीहरूको भनाइ थियो।

नोबेल मेडिकल कलेजको विशेषज्ञ जनशक्ति, प्राविधिक सहकार्य र डा. सुनिल शर्माको अगुवाइमा सम्पन्न शिविरले विद्यालय परिवारलाई एउटै स्थानबाट आँखा तथा दन्त स्वास्थ्यसम्बन्धी परीक्षण, परामर्श र सचेतना प्रदान गरेको आयोजकले जनाएको छ।

विद्यालय व्यवस्थापनले आगामी दिनमा पनि विद्यार्थीको स्वास्थ्य, सुरक्षा र समग्र विकासलाई केन्द्रमा राख्दै आवश्यकता अनुसार यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *