गरिमालाई न्याय देऊ : गछियामा दीप प्रज्वलन गर्दै दोषीलाई कारबाहीको माग

एलएन गच्छदार

सुन्दरहरैँचा, मोरङ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै मोरङको सुन्दरहरैँचा–गछिया चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ।

सुन्दरदुलारी उद्योग वाणिज्य संघको अगुवाइ तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा आयोजित दीप प्रज्वलन कार्यक्रममा स्थानीयवासी, सामाजिक अभियन्ता, अधिकारकर्मी तथा न्यायप्रेमी नागरिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले गरिमाको घटनाको निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेका थिए। हातमा मैनबत्ती लिएर सहभागीहरूले गरिमाको सम्झनामा मौनधारण गर्दै न्यायको पक्षमा आवाज उठाएका थिए।

कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तित्व देवराज तामाङले बालबालिकामाथि हुने जघन्य अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी र कडा कानुनी व्यवस्था गर्नुपर्ने बताए। उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको उल्लेख गरे।

नेपाल आदिवासी जनजाति महासङ्घ, सुन्दरहरैँचा नगर समन्वय परिषद्का अध्यक्ष सुमन याख्खाले गरिमा चौधरीको न्यायका लागि स्थानीयस्तरबाट सञ्चालन भइरहेको दबाब अभियानलाई निरन्तरता दिने बताए। उनले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने धारणा राखे।

त्यसैगरी, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापाले बालबालिकाको सुरक्षा राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको बताए। यस्ता घटना दोहोरिन नदिन कानुनी कारबाहीसँगै सामाजिक सचेतना र प्रभावकारी अभियान आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा थारु कल्याणकारिणी सभा सुन्दरहरैँचाका निवर्तमान अध्यक्ष बिलट चौधरीले गरिमा चौधरीको घटनाले सम्पूर्ण समाजलाई गम्भीर बनाएको बताए। उनले गरिमा एउटी बालिका मात्र नभई समाजकी छोरी भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याई दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरे।

“गरिमा एउटी बालिका मात्र होइनन्, उनी हाम्रो समाजकी छोरी हुन्। बालबालिकामाथि हुने यस्ता जघन्य अपराधविरुद्ध राज्य र समाज एकजुट हुनुपर्छ। गरिमाले न्याय नपाएसम्म न्यायको आवाज निरन्तर उठिरहनुपर्छ,” चौधरीले भने।

उनले घटनाको अनुसन्धान कुनै पनि राजनीतिक, सामाजिक वा अन्य दबाबबाट प्रभावित हुन नहुने भन्दै दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आग्रह गरे।

दीप प्रज्वलनका क्रममा सहभागीहरूले ‘गरिमालाई न्याय देऊ, दोषीलाई कडा कारबाही गर’, ‘एउटा आवाज न्यायको पक्षमा’ लगायतका नारासहित न्यायको पक्षमा आवाज उठाएका थिए।

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी तथा अभियन्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गरिमाको सम्झनामा दीप प्रज्वलन गर्दै बालबालिकामाथि हुने हिंसा तथा अपराधविरुद्ध सामूहिक रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका थिए।

आयोजकहरूले गरिमा चौधरीको घटनामा निष्पक्ष अनुसन्धान भई दोषीमाथि कानुनी कारबाही नभएसम्म शान्तिपूर्ण रूपमा न्यायको अभियानलाई निरन्तरता दिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *