महाशिवरात्रिदेखि प्रदर्शन हुने फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक

महाशिवरात्रिदेखि प्रदर्शन हुने फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक

काठमाडौं । महाशिवरात्रि (फागुन १ गते)देखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘शिवांश’ को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गरिएको छ। लोकलयको मिठास बोकेको यस गीतमा चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

गीतमा राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रचना रहेको छ भने संगीत स्वयम् राजनराज शिवाकोटीले भरेका हुन्। विक्रम चौहानको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय देख्न सकिन्छ। प्रेमिल भावनालाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको भिडियोमा बिहेको माहोल, गुरुङ पहिरन तथा सांस्कृतिक पक्षलाई विशेष रुपमा देखाइएको छ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको ‘शिवांश’बाट सन्तोष कुमार आत्रेयले निर्देशनमा डेब्यु गरेका छन्। फिल्मको कथा निर्माता अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको रहेको छ। सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी तथा कार्यकारी निर्मातामा शम्भु थापा रहेका छन्।

फिल्ममा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारत लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देनलगायत कलाकारको अभिनय रहेको छ।

‘शिवांश’मा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत तथा स्वर रहेको छ भने शब्द रचना विप्लव प्रतीक र राजनराज शिवाकोटीको छ। छायांकन सरद महतो, द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, स्क्रिप्ट डक्टर सुलक्षण भारती र भीएफएक्स विराज खड्काले सम्हालेका छन्। मेकअप आर्टिस्टका रूपमा तुलसा लिम्बूको योगदान रहेको छ।

चलचित्र चौतारीले पोस्ट प्रोडक्सन सम्हालेको यस फिल्मको वितरणको जिम्मेवारी **डिजिटल सिनेमा नेपाल (डीसीएन)**ले लिएको छ। शिव भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘शिवांश’ले यसअघि नै टिजर सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *