हिमालय इङ्लिस स्कुलको ९औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

एलएन गच्छदार,
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका-१० मा अवस्थित हिमालय इङ्लिस स्कुलको ९औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिका शिक्षा समितिका संयोजक तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले गर्नुभयो। उद्घाटन मन्तव्यका क्रममा उहाँले विद्यालयले हासिल गरेको प्रगति र आगामी शैक्षिक योजनाहरूको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लागिरहनुपर्नेमा जोड दिनुभयो।

विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले विद्यालयको शैक्षिक उपलब्धिहरूको समीक्षा गर्दै आउँदो शैक्षिक सत्रदेखि भौतिक पूर्वाधार र अन्य सुविधासम्पन्न भवनबाट पठनपाठन सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, उहाँले विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजालाई विद्यालयको अमूल्य निधि भएको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुलोचना खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विज्ञान प्रदर्शनी, अभिभावक नृत्य प्रतियोगिता, शिक्षक सम्मान, गायन-नृत्य प्रस्तुति जस्ता आकर्षक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

त्यस्तै, सुन्दरहरैंचामा कार्यक्षेत्र बनाएका दुई जना पत्रकारहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले आगामी दिनमा थप गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *