सीमाक्षेत्रमा ‘नेपाल पार्क’को आकर्षण बढ्दो ,मेची पुल प्रवेशद्वारमा बनेको संरचनाले पर्यटक तान्दै
झापा — भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ यतिबेला नयाँ पर्यटकीय आकर्षणका रूपमा चर्चामा आएको छ। भद्रपुर नगरपालिका–७ स्थित सीमाक्षेत्रमा बनाइएको पार्कले नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको ध्यान खिच्न थालेको हो।
भारतको पश्चिम बंगाल र विहारबाट नेपाल भित्रिने यात्रुहरूको मुख्य प्रवेशमार्गमै निर्माण गरिएको पार्कले सीमाक्षेत्रमा नेपालको पहिचान र सांस्कृतिक छवि प्रस्तुत गर्ने प्रयास गरेको स्थानीयले बताएका छन्। पार्कमा ‘नेपाल’ लेखिएको कलात्मक संरचना, भगवान गौतम बुद्धको सुनौलो प्रतिमा, आकर्षक फोटो पोइन्ट, राष्ट्रिय झण्डा, आरामदायी फलैँचा तथा नेपालका धार्मिक र पर्यटकीयस्थल झल्काउने होर्डिङ बोर्ड राखिएका छन्।
सामाजिक अभियन्ता रोयल सञ्जयका अनुसार सीमाक्षेत्रमै नेपालको पहिचान झल्काउने उद्देश्यसहित पार्क निर्माण गरिएको हो। उनका अनुसार नेपाल प्रवेश गर्ने यात्रुले सीमाक्षेत्रमै नेपालीपनको अनुभूति गरून् भन्ने लक्ष्य राखिएको छ। मेची नदीमाथि बनेको पक्की पुलको सम्पूर्ण भाग नेपाली भूभागमा पर्ने भएकाले पार्कको भौगोलिक अवस्थिति अझ विशेष बनेको छ। पुल पार गरेर नेपाल प्रवेश गर्ने धेरै यात्रु पार्कमा रोकिएर तस्बिर तथा भिडियो खिच्ने गरेका छन्। सामाजिक सञ्जालमा पार्कका तस्वीर सार्वजनिक हुने क्रम पनि बढ्दो छ।
गत वैशाख १ गते उद्घाटन गरिएको पार्कमा सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, फेवाताल, कचनकवल, किचकबध र बडिमालिकाजस्ता धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिर समावेश गरिएको छ। यसले नेपालका विविध भूगोल, संस्कृति र सम्पदालाई एकै स्थानबाट चिनाउने प्रयास गरेको देखिन्छ। नाकाको सुरक्षा र व्यवस्थापनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सार कार्यालयका कर्मचारी परिचालित छन्।
सामाजिक अभियन्ता सञ्जयका अनुसार स्थानीय दाताको स्वेच्छिक सहयोगमा करिब दुई लाख ५० हजार रुपैयाँ लागतमा पार्क निर्माण गरिएको हो। निर्माणका क्रममा श्रमदानसमेत गरिएको उनले बताए। स्थानीयवासीका अनुसार पार्कले सीमाक्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ। बिर्तामोड–४ का अजय साहले पार्कले नेपाल प्रवेश गर्ने जो–कोहीलाई आकर्षित गर्ने वातावरण सिर्जना गरेको बताए।
यस क्षेत्रको प्राकृतिक सौन्दर्य र भौगोलिक विशेषताका कारण यहाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’ लगायतका फिल्मको छायाङ्कनसमेत भइसकेको छ। सीमाक्षेत्रमा निर्माण गरिएको यो सानो संरचनाले राष्ट्रिय गौरव, पर्यटन र स्थानीय पहिचानलाई एकसाथ जोड्ने प्रयास गरेको स्थानीयको भनाइ छ।
