अब गल्ती गर्ने छुट छैन, परिपक्व नेतृत्व दिन्छु : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले अब आफूलाई अपरिपक्व बन्ने वा गल्ती गर्ने कुनै छुट नभएको बताएका छन्।
चितवनमा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएपछि आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले जनताले रास्वपामाथि राखेको विश्वासलाई जोगाउन विगतभन्दा बढी जिम्मेवार, परिपक्व र मेहनती भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
संस्थापक सभापतिका रूपमा आफ्नो जिम्मेवारी थप बढेको उल्लेख गर्दै उनले विगतमा आफूमाथि लाग्ने गरेका अपरिपक्वताका आरोपलाई अब व्यवहारबाटै खण्डन गर्ने बताए। उनले पार्टीमाथि उठ्ने प्रश्न र आलोचनाबाट नभाग्ने स्पष्ट गर्दै त्यसलाई रचनात्मक रूपमा ग्रहण गर्दै अघि बढ्ने नीति अपनाइने बताए।
लामिछानेले रास्वपाको राजनीतिक गतिविधि, अभिव्यक्ति र भूमिकाबाट देशका प्रबुद्ध वर्ग, नागरिक समाज, सञ्चार क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदाय कसैले पनि आशंका वा भय मान्नुपर्ने अवस्था नरहेको दाबी गरे। जनविश्वासलाई बलियो बनाउँदै जिम्मेवार राजनीतिक अभ्यासमार्फत अघि बढ्ने उनले बताए।
लोकतन्त्रका आधारभूत सिद्धान्त र राज्यका संवैधानिक संस्थाहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उनले शक्ति पृथकीकरणको सिद्धान्तप्रति रास्वपा दृढ रहेको स्पष्ट पारे।
साथै, जनमतको बलमा विगतका शासकहरूले गरेका जस्ता गलत अभ्यास दोहोरिए त्यसले मुलुकलाई गम्भीर संकटतर्फ धकेल्ने चेतावनी दिँदै उनले आगामी पुस्तालाई त्यसको मूल्य चुकाउन नपर्ने वातावरण बनाउन सबै राजनीतिक शक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिए।
