मोरङमा चैते धान उत्पादन बढ्यो, मूल्य घट्दा किसान चिन्तित

मोरङ । मोरङमा यस वर्ष चैते धानको उत्पादन बढेको भए पनि बजार मूल्य घटेपछि किसान चिन्तित बनेका छन्। उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाउँदा किसानको आम्दानी प्रभावित भएको छ।

कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकृत आदर्श सिंहका अनुसार गत वर्ष जिल्लामा एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन चैते धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढेर एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन पुगेको छ। यो गत वर्षको तुलनामा दुई हजार १९६ मेट्रिकटन बढी हो।

यस वर्ष चैते धान खेतीको क्षेत्रफल पनि विस्तार भएको छ। गत वर्ष १७ हजार ७५५ हेक्टरमा खेती गरिएकोमा यस वर्ष १७ हजार ८५७ हेक्टर पुगेको छ। उत्पादकत्व पनि प्रतिहेक्टर ५ दशमलव ७१ मेट्रिकटनबाट बढेर ५ दशमलव ८० मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

उत्पादन बढे पनि बजार मूल्य भने उल्लेखनीय रूपमा घटेको किसानहरूको गुनासो छ। किसान चन्द्र अधिकारीका अनुसार अघिल्लो वर्ष प्रतिक्विन्टल दुई हजार ७०० रुपैयाँसम्म बिक्री भएको चैते धान यस वर्ष करिब दुई हजार रुपैयाँमै बिक्री गर्नुपरेको छ।

बेलबारी–९, नलबारीका किसान नरबहादुर कटुवालले पर्याप्त भण्डारण सुविधा नहुँदा किसान तत्काल धान बिक्री गर्न बाध्य भएको बताए। भण्डारणको उचित व्यवस्था भएको भए बजार मूल्य अनुकूल हुँदा बिक्री गर्न सकिने र किसानले राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ।

कृषि ज्ञान केन्द्रका अनुसार मोरङका १७ स्थानीय तहमध्ये सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रंगेली र जहदामा चैते धानको व्यावसायिक खेती विशेष रूपमा हुँदै आएको छ।

कृषि विज्ञहरूले उत्पादन वृद्धिसँगै बजार व्यवस्थापन, भण्डारण सुविधा र उचित मूल्य सुनिश्चित गर्न सके किसानले यसको वास्तविक लाभ लिन सक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *