निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द हुँदा बिरामी मारमा, २२०० कर्मचारीको रोजगारी संकटमा
काठमाडौँ । सरकारले निजी अस्पतालमार्फत सञ्चालन हुँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी उपचार सेवाबाट प्रभावित भएका छन् भने निजी मेडिकल कलेज तथा अस्पतालमा कार्यरत करिब दुई हजार दुई सय कर्मचारीको रोजगारी संकटमा परेको छ ।
स्वास्थ्य बिमा बोर्डले १९ वटा निजी मेडिकल कलेजसहित ३६ निजी स्वास्थ्य संस्थामा सञ्चालित बिमा सेवा बन्द गर्ने निर्णय गरेपछि बिरामी र स्वास्थ्यकर्मी दुवै प्रत्यक्ष असरमा परेका हुन् । स्वास्थ्य बिमामार्फत उपचार गराउनेमध्ये करिब ४० प्रतिशत बिरामी निजी स्वास्थ्य संस्थामा जाने गरेका थिए ।
विराट मेडिकल कलेजमा मात्रै दैनिक आउने बिरामीमध्ये ३० देखि ३५ प्रतिशत स्वास्थ्य बिमाका सेवाग्राही हुने गरेका थिए । ती बिरामीको व्यवस्थापनका लागि अस्पतालले ११० जना कर्मचारी छुट्टै खटाएको थियो । सेवा बन्द भएसँगै उनीहरूको रोजगारीसमेत अन्योलमा परेको अस्पताल प्रशासनले जनाएको छ ।
बिहीबार मात्रै विराट मेडिकल कलेजमा विभिन्न रोगको शल्यक्रियाका लागि ४५ जना बिरामी भर्ना हुन आएका थिए । तर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको जानकारी दिएपछि केही बिरामीले विरोध जनाएका थिए भने केहीले पूर्वसूचनाबिनै सेवा रोकिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
स्वास्थ्य बिमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति का अनुसार बोर्डमा दैनिक करिब ७० हजार बिरामीको दाबी पर्ने गरेको छ । तीमध्ये ४० देखि ४५ प्रतिशत दाबी निजी स्वास्थ्य संस्थाबाट आउने गरेका थिए । यो निर्णय गर्नु उपयुक्त थिएन, तर बोर्ड बाध्यात्मक परिस्थितिका कारण यस्तो निर्णयमा पुगेको हो,” उनले भनिन् ।
उनका अनुसार गत मङ्सिरसम्म बोर्डमा आठ अर्ब रुपैयाँभन्दा बढी दाबी पुगेको छ भने प्रतिमहिना करिब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी आउने गरेको छ । बढ्दो आर्थिक दायित्व र वित्तीय दबाबका कारण निजी स्वास्थ्य संस्थामा सञ्चालित सेवा स्थगित गर्नुपरेको बोर्डको भनाइ छ । बोर्डले गत मङ्गलबार निर्णय गर्दै शनिबारदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा सेवा रोक्ने घोषणा गरेको थियो ।
