आज सार्वजनिक हुँदै २०८३/८४ को बजेट, अर्थतन्त्र चलायमान बनाउने सरकारको दाबी
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ बजेट सार्वजनिक गर्दैछ । आर्थिक सुस्तता, घट्दो लगानी र रोजगारी चुनौतीबीच आउन लागेको बजेटलाई सरकारको आर्थिक दिशा तय गर्ने महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।
दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको यो पहिलो पूर्ण बजेट हुनेछ ।
सरकारले चालु आर्थिक वर्षको तुलनामा २ देखि ३ खर्ब रुपैयाँ बढी आकारको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
यस वर्षको बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि (आईटी), शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिने बताइएको छ । उत्पादन वृद्धि, निजी क्षेत्रको मनोबल उकास्ने कार्यक्रम तथा युवालाई स्वदेशमै रोजगारी दिने योजनामा सरकार केन्द्रित हुने अपेक्षा गरिएको छ ।
आर्थिक गतिविधिमा सुस्तता देखिएको, राजस्व सङ्कलन दबाबमा रहेको तथा वैदेशिक रोजगारीमा युवाको निर्भरता बढिरहेका बेला सरकारले ल्याउने बजेटलाई अर्थतन्त्र पुनः चलायमान बनाउने अवसरका रूपमा हेरिएको छ ।





