आर्थिक गणनामा १० लाखभन्दा बढी प्रतिष्ठान समेटिए, व्यवसायको वास्तविक अवस्था उजागर हुँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो आर्थिक गणनाअन्तर्गत हालसम्म १० लाखभन्दा बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरिएको छ । देशभरका उद्योग, व्यापार र सेवा क्षेत्रको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने उद्देश्यसहित जारी गणनालाई सरकारको आगामी आर्थिक नीति निर्माणका लागि महत्त्वपूर्ण आधार मानिएको छ ।

कार्यालयले करिब १४ लाख प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेकामा हालसम्म १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिसकेको जनाएको छ । गणना गत वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुनेछ । आर्थिक गणना शाखाका निर्देशक वेदप्रसाद ढकाल का अनुसार देशभर खटिएका गणक तथा सुपरीवेक्षकले वडास्तरसम्म पुगेर कागजी प्रश्नावलीमार्फत तथ्याङ्क सङ्कलन गरिरहेका छन् । व्यवसायीले आफूले नै अनलाइनमार्फत विवरण भर्ने व्यवस्था पनि गरिएको छ ।

हालसम्म तीन हजार ६७९ प्रतिष्ठानले अनलाइनमार्फत आफ्नो आर्थिक विवरण बुझाइसकेका छन् भने सात हजार ४५३ प्रतिष्ठानले अनलाइन प्रणालीबाट विवरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यालयका अनुसार लक्ष्यअनुसार हालसम्म करिब ७० प्रतिशत कार्यप्रगति भएको छ । गणनामा व्यावसायिक कृषि, खानी, उत्पादनमूलक उद्योग, व्यापार, निजी सेवा, बैंक तथा सहकारीलगायत वित्तीय संस्था र अन्य व्यापारिक प्रतिष्ठानको विवरण सङ्कलन भइरहेको छ ।

वि.सं. २०७५ मा पहिलोपटक आर्थिक गणना गरिएको थियो भने यसपटक दोस्रो चरणको गणना सञ्चालन भइरहेको हो । सङ्कलित तथ्याङ्कले देशको आर्थिक गतिविधिको स्पष्ट चित्र प्रस्तुत गर्ने र व्यावसायिक नीति, वाणिज्य नीति तथा आर्थिक विकाससम्बन्धी योजना निर्माणमा सरकारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस गणनाका लागि देशभर तीन हजार ९०६ गणक तथा ५२६ सुपरीवेक्षक परिचालन गरिएका छन् । औपचारिक र अनौपचारिक दुवै क्षेत्रका उद्योग तथा व्यवसायलाई समेट्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरिएको छ । वडास्तरमा समेत सहजीकरण समिति बनाएर गणनालाई व्यवस्थित रूपमा अघि बढाइएको कार्यालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *