सफल सिद्धार्थ एकेडेमीको शैक्षिक उन्नति : अभिभावक दिवस तथा वार्षिक उत्सवको तयारी
सुन्दरहरैंचा /
मोरङको सुन्दरहरैंचामा अवस्थित सफल सिद्धार्थ एकेडेमीले पछिल्लो समय शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। २०५० सालमा स्थापना भएको यस विद्यालयले विभिन्न उतार–चढाव पार गर्दै २०७९ सालको अन्त्यदेखि नयाँ व्यवस्थापन टिमको नेतृत्वमा थप गतिशीलता प्राप्त गरेको हो।
विद्यालयले पठनपाठनसँगै सह–पाठ्यक्रम (CCA) तथा अतिरिक्त क्रियाकलाप (ECA) कार्यक्रमलाई प्राथमिकता दिँदै बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ। विद्यार्थीलाई विभिन्न क्लबमार्फत सक्रिय बनाउने अभ्यासले उनीहरूको प्रतिभा प्रस्फुटनमा टेवा पुगेको विद्यालयले जनाएको छ। पछिल्लो दुई वर्षदेखि अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा ‘सफल सिद्धार्थ रन’ जस्ता कार्यक्रम सञ्चालन गर्दै विद्यालयले नगर मात्र नभई राष्ट्रिय स्तरमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
भौतिक पूर्वाधार सम्पन्न तथा प्रविधिमैत्री वातावरणमा संस्कारयुक्त शिक्षा प्रदान गर्दै स्मार्ट बोर्डमार्फत पठनपाठन सञ्चालन भइरहेको छ। प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुने यस विद्यालयमा हाल पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ३८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
विद्यालयमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला लगायतका आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध छन्। विभिन्न विधामा प्याब्सनको नगर तथा जिल्ला स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालय सुन्दरहरैंचाकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ। अभिभावक तथा विद्यार्थीको पहिलो रोजाइ बन्न पनि विद्यालय सफल भएको छ।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले आगामी कार्यक्रमबारे जानकारी दिँदै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको क्षमता विकासमा निरन्तर काम गरिरहेको बताउनुभयो।
यसैबीच, विद्यालयले यही चैत २७ गते ३२औँ अभिभावक दिवस तथा वार्षिक उत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै ज्येष्ठ अभिभावक सम्मान कार्यक्रम आयोजना गरिनेछ।
त्यसैगरी, मन्टेश्वरी तहको दीक्षान्त समारोह, गायन, नृत्य, नाटक तथा अभिभावक र शिक्षकहरूको सहभागितामा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
विद्यालयले चैत २८ गते नयाँ विद्यार्थीका लागि प्रवेश परीक्षा पनि सञ्चालन गर्ने जनाएको छ।





