क्वेष्ट सेकेण्डरी स्कुलमा किड्स ट्यालेन्ट सो, दीक्षान्त तथा छात्रवृत्ति वितरण सम्पन्न

एलएन गच्छदार / सुन्दरहरैंचा 

मोरङको सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरी स्कुलले किड्स ट्यालेन्ट सो, दीक्षान्त समारोह तथा छात्रवृत्ति वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। संस्थापक प्रिन्सिपल तथा प्याब्सन नगर अध्यक्ष दीपक क्षेत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नगर उपप्रमुख अकली चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा युकेजी तह उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गर्ने साना बालबालिकाहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको थियो। बालबालिकाको शैक्षिक यात्राको नयाँ चरणमा प्रवेशलाई स्मरणीय बनाउने उद्देश्यले आयोजित समारोहले अभिभावक, शिक्षक तथा विद्यार्थीहरूमा उत्साह थपेको देखिन्थ्यो।

यसै अवसरमा आयोजित किड्स ट्यालेन्ट सोमार्फत बालबालिकाहरूले नृत्य, गीत–संगीत, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। उनीहरूको आत्मविश्वास, सिर्जनशीलता र अन्तर्निहित प्रतिभा झल्किने प्रस्तुतीहरूले उपस्थित दर्शकको मन जितेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिएको थियो भने जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख अकली चौधरीले बालबालिकाको प्रारम्भिक शिक्षा जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले “शिक्षा र प्रतिभालाई सँगसँगै अघि बढाउन आवश्यक छ” भन्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीच सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, स्वीकृति नलिई कक्षा थप गरी अध्यापन गराउने विद्यालयहरूमाथि नगरपालिकाले कडाइ गर्ने चेतावनी पनि दिनुभयो। “छात्रासँग उपमेयर कार्यक्रम” लाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

त्यसैगरी संस्थापक प्रिन्सिपल दीपक क्षेत्रीले विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको समग्र विकासमा केन्द्रित भएर शिक्षण गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचान र प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।

उल्लेखनीय छ, उक्त विद्यालयले यसअघि अभिभावक दिवस तथा वार्षिक उत्सव समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ। निरन्तर शैक्षिक तथा रचनात्मक कार्यक्रममार्फत विद्यालयले आफ्नो शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै आएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *