कामधेनु दुग्ध विकास सहकारीद्वारा आरोप–प्रत्यारोपको कडा खण्डन

इटहरी -१ आँपगाछी स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लि. का अध्यक्ष यादप ढकालले हालै केही सदस्य र पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएका आरोप–प्रत्यारोपलाई घोर खण्डन गरेका छन्।

अध्यक्ष ढकालले बताएअनुसार, मिति २०८२ कार्तिक १७ गते संस्थामा कार्यरत कर्मचारी प्रेम प्रसाद मिश्रको आत्महत्या प्रकरणमा उठेका केही आरोप पूर्णतः मिथ्या र निराधार हुन्। उनीहरूले संस्थालाई गलत तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको भन्दै, सम्बन्धित कर्मचारी र सेयर सदस्यलाई निलम्बन तथा सेयर सदस्यता खारेजी गरिएको उनले जानकारी दिएका छन्।

अध्यक्ष ढकालले भने,“हाम्रो होनहार कर्मचारी गुमाएको पीडादायी घडीमा संस्था परिवार स्तब्ध छ। तथापि, संस्थामाथि लगाइएका आरोप–प्रत्यारोप पूर्णरूपले भ्रमपूर्ण र तथ्यहीन हुन्। नेपाल प्रहरीको अनुसन्धान जारी छ र हामी सत्य–तथ्य बाहिर ल्याउन आवश्यक सहयोग गरिरहेका छौं।”

साथै, उनले सम्पूर्ण सेयर सदस्य, दुग्ध उत्पादक किसान तथा शुभचिन्तकहरूलाई भ्रममा नपर्नु र सत्य–तथ्य बुझेर मात्रै सूचना प्रवाह गर्नु हुन आग्रह गरेका छन्।

अध्यक्ष ढकालले यस घटनालाई संस्थाको छवि धुमिल गर्ने प्रयास मात्र नभएर, सहकारीका नियम, विनियम, संचालक समितिको निर्णय र नेपाल सरकारको कानुनअनुसार संस्था संचालन भइरहेको पुनः स्पष्ट पारेका छन्।

संस्थाले भविष्यमा पनि पारदर्शिता, उत्तरदायित्व र संस्थागत हितमा कार्य गर्दै अग्रणी सहकारीको रूपमा अघि बढिरहने योजना सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *