नवदुर्गाको स्वरूपमा सजिए बालबालिका, बाल सदन एकेडेमीमा दसैँको रौनक

एलएन गच्छदार

सुन्दरहरैंचा (मोरङ) । नेपाली मौलिक परम्परा, संस्कृति र संस्कारको संरक्षण गर्दै बालबालिकामा चाडपर्वको महत्त्व उजागर गर्ने उद्देश्यले मोरङको सुन्दरहरैंचा नगरपालिका–९, विराटचोक बुधबारेस्थित बाल सदन एकेडेमीले विजयादशमीको टीकाको पूर्वसन्ध्यामा दसैँ विशेष कार्यक्रम आयोजना गरेको छ।

विद्यालयको प्रि–मन्टेश्वरी समूहका बालबालिकादेखि शिक्षकसम्म सहभागी कार्यक्रममा दसैँको खुसी, माया, सद्भाव र शुभकामना साटासाट गरिएको थियो। बालबालिकाले परम्परागत पिङ खेल्दै रमाइलो गरेका थिए भने विद्यालय परिसर दसैँको उल्लास र उमङ्गले भरिएको थियो।

कार्यक्रममा नेपाली समाजको मौलिक पारिवारिक सम्बन्ध र दसैँको सांस्कृतिक महत्त्व झल्काउने गरी बालबालिकाले ‘घरपेटी बा’ र ‘घरबेटी आमा’ को पात्रसमेत निर्वाह गरेका थिए। उक्त अवसरमा शिक्षक तथा बालबालिकाले टीका र जमरा थाप्दै दसैँको परम्परागत विधि र संस्कारलाई व्यवहारमै अनुभव गरेका थिए।

कार्यक्रमको विशेष आकर्षणका रूपमा बालबालिकाले नवदुर्गाका नौ स्वरूप धारण गरी आकर्षक प्रस्तुति दिएका थिए। उनीहरूलाई माता शैलपुत्री, माता ब्रह्मचारिणी, माता चन्द्रघण्टा, माता कूष्माण्डा, माता स्कन्दमाता, माता कात्यायनी, माता कालरात्रि, माता महागौरी र माता सिद्धिदात्री को रूपमा सजाइएको थियो। नवदुर्गाका यी स्वरूपको पूजासमेत गरिएको थियो।

दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वसँग बालबालिकालाई परिचित गराउने उद्देश्यले गरिएको यस गतिविधिले उनीहरूलाई नेपाली परम्परा, धार्मिक आस्था र मौलिक संस्कृतिबारे व्यवहारिक रूपमा बुझ्ने अवसर प्रदान गरेको थियो। विविध सांस्कृतिक कार्यक्रम र बालबालिकाको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

विद्यालयका प्रिन्सिपल निरज ढकालले बालबालिकालाई किताबी ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र संस्कारको व्यावहारिक ज्ञान दिन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। सानै उमेरदेखि चाडपर्वको महत्त्व बुझाउन सके बालबालिकामा आफ्नो संस्कृति र मौलिक पहिचानप्रति सम्मानको भावना विकास हुने उनको भनाइ थियो।

त्यस्तै, विद्यालयका प्रबन्ध निर्देशक सूर्य दंगालले आधुनिक शिक्षासँगै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु विद्यालयको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए। बालबालिकालाई आफ्नै संस्कृति र संस्कारसँग जोड्दै खुसी, प्रेम, सद्भाव र सामाजिक एकताको भावना विकास गराउन कार्यक्रम आयोजना गरिएको उनले बताए।

उनका अनुसार बालबालिकालाई आफैँ पात्र बनेर टीका–जमरा लगाउने, नवदुर्गाका स्वरूप धारण गर्ने तथा पिङ खेल्नेजस्ता गतिविधिमा सहभागी गराउँदा चाडपर्वको वास्तविक महत्त्व बुझ्न सहज हुन्छ।

विद्यालयले अध्ययन–अध्यापनसँगै बालबालिकाको सिर्जनात्मक क्षमता, आत्मविश्वास, सामाजिक व्यवहार र सांस्कृतिक चेतना विकासमा जोड दिँदै आएको जनाएको छ।

बाल सदन एकेडेमीमा आयोजित दसैँ विशेष कार्यक्रमले बालबालिकालाई रमाइलो गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक परम्परा र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने सन्देश दिएको छ। खुसी, माया र शुभकामना साटासाट गर्दै सम्पन्न कार्यक्रमले विद्यालय परिवारमा दसैँको उत्साह थपेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *