सुन्दरहरैंचाको ॐ साङ्गे रेसम गुम्बामा हर्षोल्लासका साथ मनाए सोनाम ल्होसार

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरङ – तामाङ समुदायले परम्परागत तथा सांस्कृतिक महत्व बोकेको सोनाम ल्होसार पर्व सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको ओम साङ्गे रेसम गुम्बामा हर्षोल्लासका साथ मनाएका छन्। बौद्ध पात्रोअनुसार नयाँ वर्षको आगमनलाई स्वागत गर्न तामाङ समुदायले मनाउने सोनाम ल्होसार यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ।

सुन्दरहरैंचाको विभिन्न स्थानमा समुदायका सदस्यहरूले परम्परागत भेषभूषा र संस्कृति झल्किने झाँकीसहित कार्यक्रम गरी मनाएका छन । स्थानिय गुम्बाहरूमा धार्मिक अनुष्ठान, पूजापाठ तथा बौद्ध धर्मगुरुहरूबाट शुभकामना आदान-प्रदान गरियो।

सो अवसरमा तामाङ सेलो, दोहोरी, नृत्य तथा संस्कृति झल्कने विविध प्रस्तुति राखिएको थियो। कार्यक्रममा स्थानीय प्रतिनिधि, बौद्ध भिक्षुहरू, समाजसेवी, युवा तथा बयोबृद्धहरूको सक्रिय सहभागिता रहेको थियो।
ओम साङ्गे रेसम गुम्बाका सचिव सन्तोष मोक्तानका अनुसार नयाँ वर्ष मन्जुश्री सम्बत २८६१ औं को अवसरमा परिवारका सबै सदस्यहरू भेला भई खुशीयाली साट्ने अवसर भएकाले ल्होसार पारिवारिक मेलमिलाप र एकताको प्रतीक मान्दै आएको बताए । मौलिकता जगेर्ना गर्दै आपसी एकता र सहिष्णुता अभिवृद्धिसंगै आफन्त, साथीभाइ र छरछिमेकबीच शुभकामना आदान-प्रदान गरी सोनाम ल्होसार पर्व मनाएको बताए ।

स्थानीय समुदायले सोनाम ल्होसारलाई अवसरको रूपमा लिँदै तामाङ संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। सोनाम ल्होसार पर्वको अवसरमा समुदायका सदस्यहरूले शुभकामना साटासाट गर्दै नयाँ वर्षको स्वागत गरेका थिए।
तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन, भुटान, श्रीलंका सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि यो दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गरेको नेपाल तामाङ् युवा घेदुङ सुन्दरहरैंचाका अध्यक्ष सोनाम सिङ्दम तमाङले जानकारी दिदै सोनाम ल्होसार मनाउँनका लागि राज्यले १ दिनको बिदा पर्याप्त नभई ३ दिन बिदा दिनु पर्ने माग गर्छन ।
सो अवसरमा नेपाल तमाङ युवा घेदुङ नगर सचिव रिता तामाङले आफ्नो समुदायको संस्कार र संस्कृति जगेर्ना संगै भेषभुषालाई मात्र होइन आफ्नो भाषालाई समेत संरक्षण गर्न आवश्यक रहेको बताईन।
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ भने मन्जुश्री पात्र अनुसार मनाउने चलन रहेको ओम साङ्गे रेसम गुम्बाका अध्यक्षको भनाइ छ ।

सोनाम ल्होसार तामाङ समुदायको प्रमुख नयाँ वर्षको पर्व हो, जसलाई बौद्ध पात्रोअनुसार मनाइन्छ। “ल्हो” को अर्थ “वर्ष” र “सार” को अर्थ “नयाँ” भन्ने हुन्छ, जसअनुसार ल्होसार भन्नाले “नयाँ वर्ष” भन्ने अर्थ लाग्छ। ड्रुक अर्थात् ड्र्यागन वर्गको विदाई र डुल सर्प अर्थात वर्ग/वर्षमा प्रवेश गरेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *