सुन्दरहरैंचामा फिल्म छायांकनकै लागि ४२ फिटकाे काली माताको मूर्ति

फिल्म छायांकनकै लागि ४२ फिटकाे काली माताको मूर्ति

बिराटनगर : निर्देशक सन्तोष सेनले छायांकनरत फिल्म ‘बलिदान’ काे दृश्य खिच्न ४२ फिटको काली माताको मूर्ति निर्माण गरेका छन्। निर्देशक सेनले सामाजिक सञ्जाल फेसबुकमा मोरङको बनिरहेको काली माताको मूर्तिसहितको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

कथाको मागअनुसार दानव प्रवृत्तिको संहार गर्ने प्रतीकस्वरुप देवी कालीको मूर्ति आवश्यक परेकोले निर्माण गरेको उनले बताएका छन्। उनले लेखेका छन्, ‘हामीलाई ‘बलिदानको छायांकनमा कथाको मागअनुसार दानव प्रवृत्तिको संहार गर्ने प्रतीकरुपमा देवी काली र तिनको रौद्र र चण्डीस्वरुपलाई प्रतिबिम्व गर्ने एक अदभूत मूर्तिको आवश्यक परेको थियो। त्यस्तो आकारको मूर्ति देशैभर प्राप्त भएन र हामीले कलकतासम्म पहुँच बनाएका नेपालका कुशल कालीगढ बाबुराम महतोमार्फत ४२ फिटकाे काली माताको मूर्ति निर्माण गरेका छौँ।’

मूर्ति मोरङको सुन्दरहैँचा-५ स्थित नमुना सामुदायिक मैदानमा अवस्थित छ। उक्त चौरलाई अहिले काली चौरका रुपमा चर्चा भइरहेको निर्देशक सेनले उल्लेख गरेका छन्, ‘सुन्दरहरैचा ५ नमुना सामुदायिक मैदानमा त्यस मूर्तिको प्रतिष्ठा गरेका थियौँ। त्याे ठाउँ अहिले काली चौरका रुपमा प्रख्यात भइरहेको देखेर हर्षित भएका छौँ।’

उक्त स्थानमा २०० जति स्टल स्थापना गरेर सर्वसाधारणलाई रोजगारको व्यवस्था गर्ने याेजनासमेत रहेकाे उनले याेजना छ। सन्तोषले मोरङ र सुनसरीमा सेट बनाएर फिल्मको छायांकन गरिरहेका छन्। एक्सन जनरामा बनेकाे फिल्ममा ‘१२ गाउँ’ बाट चर्चा बटुलेका अभिनेता समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय छ। फिल्मका प्रस्तुतकर्ता निर्देशक सन्तोष स्वयं हुन्।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको पटकथा लेखन रहकाे फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्। पवन ब्राडफोर्ड बिस्टले निर्माण गरेकाे फिल्मकाे कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन्। फिल्म आसुसेन फिल्म्सको ब्यानरमा बनेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *