चारदिने चीन भ्रमणमा आज परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सम्बन्ध र लगानी सहकार्यमा केन्द्रित छलफल हुने

काठमाडौं । नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने तथा आर्थिक एवं लगानी सहकार्य विस्तार गर्ने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक चीन भ्रमणमा प्रस्थान गर्दैछन्।

चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयाम, आपसी हितका विषय तथा विभिन्न क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ उच्च अधिकारीहरूसँग शिष्टाचार भेट गर्नुका साथै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ व्यवसायी समुदायसँग नेपालमा लगानीका अवसर र सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ।

त्यसैगरी, चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि मन्त्री खनालको भ्रमण तालिकामा रहेको छ। खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायतका अधिकारी सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *