प्रदर्शनको संघारमा आइपुगेको नेपाली फिल्म ‘बम बहादुर’को इटहरीमा पत्रकार सम्मेलन
इटहरी/ प्रदर्शनको संघारमा आइपुगेको नेपाली फिल्म ‘बम बहादुर’को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । यो फिल्मको दार्जीलिङमा प्रिमियर पश्चात् नेपालमा पहिलो पटक इटहरीमा पत्रकार सम्मेलन गरिएको हो । सन् १९८० को दशकमा भारतको दार्जिलिङ र डुअर्स क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको संघर्षका कथालाई समेटेर तयार पारिएको यो फिल्म बम बहादुर नेपाल र भारतमा पौष ५ गतेदेखी एकै साथ रिलिज हुने तयारीमा छ ।
चलचित्रको विषयमा जानकारी गराउने उद्देशसहित इटहरीको फुडशाला क्याफेमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका मुख्य पात्र बम बहादुरले चार दशक अघि भोगेको संघर्षले वर्तमानमा पारेको प्रभावको विषयलाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी गराइयो । पत्रकार सम्मेलनमा सुनसरीको इटहरी र धरानसंगै मोरङको बिराटनगर तथा सुन्दरहरैँचाका सक्रिय पत्रकारहरुसहित झापा र काठमाडौ तथा दार्जीलिङका पत्रकारहरुको समेत उपस्थिति बाक्लो रहेको थियो ।
पत्रकार सम्मेलनमा फिल्मका तर्फबाट निर्माता सञ्जीव सार्की, निर्देशक जोन राई, प्रमुख अभिनेता सौगात मल्ल, अभिनेत्रीहरु अनिशा रसाइली, शान्तिला तामाङ लगायतको उपस्थिति रहेको थियो । फिल्मका लेखक तथा निर्देशक राईले यो फिल्म बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । यस्तै उनले “भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ ।” भन्ने उनको भनाई थियो ।
सार्वजनिक प्रदर्शनअघि यो फिल्मको इटहरीमा प्रिमियर पनि गरिने भएको छ । निर्माण युनिटले केही दिनमै यसको जानकारी गराउने बताईएको छ । यसअघि यो फिल्मको दार्जीलिङमा प्रिमियर गरिएको थियो । बिष्ट ब्रोदर्स फिल्मसको प्रस्तुति तथा ओख्ली ढिक्की प्रोडक्सनको सहयोगमा निर्माण ‘बम बहादुर’ निर्माण भएको हो । इटहरीको पत्रकार सम्मेलनमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान, महासचिव दिनेश कोइराला, फिल्म निर्माता तथा निर्देशक लाखमान योन्जन र निर्देशक प्रकाश सुब्बाको पनि विशेष उपस्थिति रहेको थियो । यो फिल्ममा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास लगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ । यो फिल्मको कथा तथा स्क्रीनप्ले जोन राई र रुपेश तामाङले तयार गरेका हुन् ।




