इटहरी प्रहरी कार्यलय पुनजीर्वित,वडा प्रहरी कार्यलयकाे रुपमट सञ्चालन गरिने

इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। करिब १० महिनापछि मर्मत तथा पुनर्निर्माणको काम सकिएसँगै उक्त भवनलाई वडा प्रहरी कार्यालयका रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
इटहरी उपमहानगरपालिका–६ मा रहेको भवनलाई वडा स्तरको प्रहरी संरचनामा रूपान्तरण गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए। उनका अनुसार भवन निर्माण तथा मर्मत–सम्भारको काम पूरा भइसकेको छ भने हाल प्रहरी नायब निरीक्षक (सई) को दरबन्दी माग गरिएको छ।
भवन निर्माणको काम सम्पन्न भइसकेको छ। अब सईको दरबन्दी आएपछि चाँडै वडा प्रहरी कार्यालय स्थापना हुन्छ,’ डिएसपी हमालले बताए।
उनका अनुसार स्थापना हुने वडा प्रहरी कार्यालयमा सईको नेतृत्वमा करिब १० जना प्रहरी खटिनेछन्। यसबाट विशेषगरी इटहरी चोक तथा आसपास क्षेत्रमा हुने चोरी, झैझगडा, ट्राफिक अव्यवस्था तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल इटहरी क्षेत्रमा प्रहरीका लागि ६ स्थानमा औपचारिक दरबन्दी कायम रहेको छ। तीमध्ये इलाका प्रहरी कार्यालय इटहरी, वडा प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार, तरहरा, पुरानो प्रहरी चौकी तरहरा तथा पचरुखी रहेका छन्। तर, सुरक्षा आवश्यकतालाई मध्यनजर गर्दै इटहरीमा १२ स्थानसम्म अस्थायी प्रहरी पोस्ट सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ।
डिएसपी हमालका अनुसार देवीथान क्षेत्रमा प्रहरी बस्न उपयुक्त संरचना नभएकाले त्यहाँ रहेको अस्थायी पोस्ट हटाइएको हो। साथै, तरहरामा नजिकै स्थायी प्रहरी चौकी रहेकाले अतिरिक्त प्रहरी परिचालन नगरिएको उनले बताए। ती दुवै स्थानमा यसअघि हवलदारको नेतृत्वमा दुईदेखि तीन जना प्रहरी खटिँदै आएका थिए।
जेनजी आन्दोलनका क्रममा इटहरी–६ स्थित प्रहरी भवनमा तोडफोड तथा आगजनी भएपछि कार्यालय पूर्ण रूपमा ध्वस्त बनेको थियो। त्यसयता इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित क्षेत्रीय रङ्गशालाबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *