बाल सदन एकेडेमीमा लोकतन्त्रको अभ्यास विद्यार्थी नेतृत्व चयनका लागि नमुना निर्वाचन, शुक्रबार पदस्थापन

एलएन गच्छदार / सुन्दरहरैंचा । विद्यालय परिसरमा केही दिनयता चुनावी माहोल थियो । उम्मेदवार विद्यार्थीहरू आफ्ना प्रतिबद्धता सुनाउँदै साथीहरूसँग मत माग्न व्यस्त देखिन्थे । कतै समूहगत छलफल चलिरहेको थियो भने कतै नेतृत्व चयनबारे विद्यार्थीहरूबीच बहस भइरहेको थियो । मोरङको सुन्दरहरैंचा–१० स्थित बाल सदन एकेडेमीमा सम्पन्न विद्यार्थी नेतृत्व चयनको नमुना निर्वाचनले विद्यालयलाई नै लोकतान्त्रिक अभ्यासको थलो बनाइदिएको थियो ।

स्कुल क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि गरिएको निर्वाचन प्रक्रियाले राष्ट्रिय संसदीय निर्वाचनकै झल्को दिएको थियो । निर्वाचनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन विद्यालयले मतदाता नामावली प्रकाशनदेखि चुनाव चिन्ह वितरण, प्रचारप्रसारको समय निर्धारण, मौन अवधि र गोप्य मतदानसम्मका प्रक्रिया अपनाएको थियो ।

कक्षा ३ देखि १० सम्मका ४५० विद्यार्थी मतदाता थिए । स्कुल क्याप्टेन पदका लागि ४ जना र भाइस क्याप्टेन पदका लागि ४ जना विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए । उम्मेदवारहरूले विद्यालय सुधारका योजना, अनुशासन कायम गर्ने प्रतिबद्धता र अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउने एजेन्डा सार्वजनिक गर्दै मत मागेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल निरज ढकालका अनुसार सामाजिक विषयमा पढाइने लोकतन्त्र, निर्वाचन प्रक्रिया र नागरिक सहभागिताको पाठलाई व्यवहारिक रूपमा बुझाउन विद्यालयले यस्तो अभ्यास सुरु गरेको हो ।

“विद्यार्थीहरूले किताबमा मात्र होइन, व्यवहारमै लोकतन्त्र बुझून् भन्ने उद्देश्य हो,” उनले भने, “नेतृत्व कसरी चयन हुन्छ, मतदान किन महत्त्वपूर्ण छ र नागरिकको भूमिका के हुन्छ भन्ने कुरा विद्यार्थीले प्रत्यक्ष अनुभव गर्न पाएका छन् ।”

ढकालका अनुसार मतदान सम्पन्न भइसकेको छ भने भोलि मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ । निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई शुक्रबार औपचारिक रूपमा पदस्थापन गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

विद्यालयका प्रबन्ध निर्देशक सूर्य दंगालले यस्ता अभ्यासले विद्यार्थीहरूमा आत्मविश्वास, निर्णय क्षमता र सहकार्यको भावना विकास हुने बताए । “आजको विद्यार्थी नै भोलिको नेतृत्व हो,” उनले भने, “विद्यालय तहदेखि नै लोकतान्त्रिक संस्कार सिकाउन सके भविष्यमा जिम्मेवार नागरिक तयार हुन्छन् ।”

निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाउन विद्यालयले शिक्षकहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो । उनीहरूले विद्यार्थीहरूलाई मतपत्रमा कसरी संकेत गर्ने, मत कसरी गोप्य राख्ने र मतदान प्रक्रिया किन निष्पक्ष हुनुपर्छ भन्नेबारे अभिमुखीकरण गरेका थिए । मतदानअघि नमुना मतपत्रमार्फत अभ्याससमेत गराइएको थियो ।

मतदानका क्रममा कतिपय विद्यार्थी पहिलो पटक मतदानमा सहभागी हुँदा उत्साहित र जिज्ञासु देखिन्थे । मतदान केन्द्र प्रवेशदेखि मतपत्र बुझ्ने, स्वस्तिक छाप लगाउने र मतपेटिकामा मत खसाल्ने प्रक्रियाले उनीहरूलाई वास्तविक निर्वाचनको अनुभूति गराएको थियो ।

विद्यालयले निर्वाचन प्रक्रियामा शिक्षक, अभिभावक प्रतिनिधि तथा विद्यार्थीहरूलाई समेत पर्यवेक्षकको भूमिकामा परिचालन गरेको जनाएको छ । विद्यालय प्रशासनका अनुसार निर्वाचित क्याप्टेन तथा भाइस क्याप्टेनहरूले विद्यालयमा अनुशासन कायम गर्न, विद्यार्थीका समस्याबारे प्रशासनलाई जानकारी गराउन तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहजीकरण गर्नेछन् ।

बाल सदन एकेडेमीको यो अभ्यासले विद्यालय तहबाटै लोकतन्त्रको संस्कार सिकाउन सकिने सन्देश दिएको छ । व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै गरिएको यस्तो कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास विद्यालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *