केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी तथा उनीहरूका परिवारलाई अस्पतालमा उपलब्ध विभिन्न सेवाहरूमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । त्यसैगरी बैंकले आफ्ना विभिन्न सेवाहरूमा केएमसीका कर्मचारी, डाक्टर, नर्स तथा उनीहरूका परिवारलाई विशेष सहुलियत उपलब्ध गराउने भएको छ ।
केएमसी युनिट–दुवाकोटमा सम्पन्न सम्झौताअनुसार अस्पतालले निःशुल्क टिकटको व्यवस्था गर्नेछ । साथै बेड, आईसीयू, एचडीयू, सीसीयू तथा शल्यक्रिया शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । यस्तै दाँत, मुटु, प्रसूति लगायत अस्पतालमा उपलब्ध अन्य सेवाहरूमा पनि सहुलियत दिइने भएको छ ।
अर्कोतर्फ बैंकले अस्पतालका कर्मचारी, डाक्टर तथा नर्सहरूलाई खाता खोल्न, क्रेडिट कार्ड, भिसा कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विदेशी मुद्रा सटही, लकर शुल्कलगायत सेवामा विशेष छुट दिने भएको छ । साथै विभिन्न प्रकारका ऋणमा लाग्ने ब्याजदरमा पनि निश्चित सहुलियत उपलब्ध गराउने भएको छ ।
सम्झौतापत्रमा केएमसी अस्पतालका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहाल तथा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक (सेल्स तथा मार्केटिङ) सुशील हुमागाईंले हस्ताक्षर गरेका थिए । यो सम्झौता २०८३ साल वैशाख ७ गतेदेखि दुई वर्षसम्म लागू हुनेछ ।
यसका साथै केएमसी दुवाकोटले उपचारका लागि आउने सम्पूर्ण सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सीटी स्क्यान र एमआरआई बाहेक अस्पतालमा उपलब्ध सेवाहरूमा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *