समयले लेख्दैछ डा. शर्माको कर्म, पौडेल चौकमा धारासँगै बगेको खुसी
पथरी शनिश्चरे :
“घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
मो भानुभक्त धनी भई किन यस्तो ।।”
आदिकवि भानुभक्त आचार्य का यी हरफहरू केवल साहित्यका पंक्ति मात्र होइनन्, समाजसेवा र मानवीयताको गहिरो सन्देश पनि हुन् । मानिस पद, प्रतिष्ठा वा चुनावी जितले मात्र ठूलो हुँदैन, अरूका दुःखमा साथ दिन सक्ने हृदयले ठूलो बन्छ । यस्ता कर्म तत्काल चर्चामा नआए पनि समयले तिनलाई इतिहासमा लेखेर राख्ने गर्छ ।
मोरङको पथरी शनिश्चरे–८ स्थित पौडेल चौकमा अहिले यस्तै एउटा कर्मको चर्चा भइरहेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू पहिलो पटक धाराबाट आएको सफा पानी थाप्दै मुस्कुराइरहेका छन् । कतिपय वृद्धवृद्धाको आँखामा खुसीका आँसु टल्किरहेका छन् ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो बस्तीमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो । खोलाको धमिलो पानी नै स्थानीयको जीवनको आधार बनेको थियो । समयसँगै खोलाको पानीमा लेदो मिसिन थालेपछि समस्या झन् गम्भीर बनेको थियो । पिउने पानी नै असुरक्षित भएपछि स्थानीयहरू चिन्तित र निराश थिए ।
स्थानीय बबिता पौडेलका अनुसार गाउँमा खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको थियो । “हामीलाई खानेपानीको धेरै दुःख थियो । खान मात्रै होइन, लुगा धुन पनि उत्तिकै गाह्रो थियो,” उनी भन्छिन् । “हामीले गाउँको समस्या डा. सुनील शर्मा लाई सुनायौं । त्यसपछि उहाँले हाम्रा लागि इनार बनाइदिनुभयो । अहिले धेरै सहज भएको छ ।”
अर्की स्थानीय यशोदा थापा खत्रीका अनुसार गाउँमा कल गाडिएको भए पनि राम्रो पानी आउँदैनथ्यो । “५५–६० फिटसम्म खन्दा पनि रातो पानी आउँथ्यो । चिया पकाउँदा पनि हेर्न नसकिने हुन्थ्यो,” उनी भन्छिन् । “यो समस्या सुनाएपछि डा. शर्माले इनार खनिदिनुभयो । चुनाव हारेर गए पनि उहाँले गाउँ बिर्सनुभएन । हामी पनि उहाँलाई कहिल्यै बिर्सिने छैनौं ।”
स्थानीय चन्द्रप्रसाद पौडेल सम्झिन्छन्, “२०३५ सालदेखि हामी खोलाकै पानी खाइरहेका थियौं । धेरै ठाउँ धायौं, धेरैलाई भन्यौं, तर कसैले वास्ता गरेनन् ।”
गाउँलेहरूको यही पीडा देखेर डा. सुनील शर्मा चुप बस्न सकेनन् । चुनावी हारपछि धेरै नेताहरू जनताबाट टाढिने आरोप खेपिरहेका बेला उनले भने गाउँलेको समस्या बिर्सेनन् । राजनीतिक लाभभन्दा माथि उठेर स्थानीयका लागि इनार निर्माणमा सहयोग गरे ।
आज त्यही सहयोगको परिणामस्वरूप पौडेल चौकमा सफा पानी बगिरहेको छ । गाउँलेहरू धारामा पानी थाप्दै खुसी साटिरहेका छन् । लामो प्रतीक्षापछि आफ्नै गाउँमा स्वच्छ पानी पिउन पाउँदा स्थानीयमा नयाँ आशा पलाएको छ ।
राजनीतिमा धेरैले भाषण गर्छन्, धेरैले आश्वासन दिन्छन् । तर समाजले अन्ततः सम्झिने भनेको कर्मलाई नै हो । डा. सुनील शर्मा अहिले प्रचारभन्दा बढी सेवा गरिरहेका छन् । समयले यस्ता कर्म कहिल्यै बिर्सँदैन । आज उनले गरिरहेको सेवा भोलि इतिहासका पानामा लेखिनेछ, र ती कर्मलाई शब्दमा उतार्न फेरि अर्को भानुभक्त जन्मिन सक्छ ।




