खोर्साने गोल्डकपले जगायो फुटबल उत्साह उद्घाटन खेलमै एपीएफलाई हराउँदै आरटी धरान सेमिफाइनलमा

खोर्साने गोल्डकपले जगायो फुटबल उत्साह

उद्घाटन खेलमै एपीएफलाई हराउँदै आरटी धरान सेमिफाइनलमा

एलएन गच्छदार । सुन्दरहरैंचा ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१०, खोर्सानेस्थित सुकुना खेल मैदान यतिबेला फुटबलमय बनेको छ । सुन्दर खोर्साने युवा क्लबको आयोजनामा सुरु भएको “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” ले स्थानीय खेलप्रेमीमा नयाँ उत्साह थपेको छ ।

संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगिताको पहिलो खेलमै आरटी धरानले सशस्त्र प्रहरी बल (एपीएफ) नेपाललाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका धरानका जर्सी नम्बर १० का कृष्ण राई ‘म्यान अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताको उद्घाटनसँगै सुकुना खेल मैदानमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो । स्थानीय युवा, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले खोर्साने क्षेत्रलाई उत्सवमय बनाएको थियो । आयोजकले प्रतियोगितालाई केवल खेलमा सीमित नराखी सामाजिक एकता, युवा सशक्तीकरण र स्थानीय पहिचानसँग जोडेर अघि बढाएको जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य फुटबल खेलको विकास गर्नुका साथै युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नु हो । “खेलकुदले समाजलाई जोड्ने शक्ति राख्छ,” उनले भने, “युवालाई दुर्व्यसनबाट टाढा राख्दै अनुशासित र जिम्मेवार बनाउन यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्छन् ।”

प्रतियोगितामा विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा आयोजक टोलीसँगै भारतको यूकेएफसी दार्जिलिङ, इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब, सहलेस फुटबल क्लब सिराहा लगायत टोलीहरूको सहभागिता रहेको छ । आयोजकका अनुसार आगामी खेलहरूमा थप प्रतिस्पर्धात्मक वातावरण बन्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दै संबिधान  सभा सदस्य तथा  प्रमुख अतिथि चन्द्रबहादुर गुरुङले खेलकुदले समाज र युवालाई सकारात्मक ऊर्जा दिने बताए । उनले खोर्साने गोल्डकपले सुन्दरहरैंचालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, सुन्दरहरैंचा–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले स्थानीय तहले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । “यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई अवसर दिन्छन्,” उनले भने, “खेलकुदमार्फत पर्यटन प्रवर्द्धन र सामाजिक एकता समेत मजबुत हुन्छ ।”

भोलिको खेलमा भारतको यूकेएफसी दार्जिलिङ, सिराहाको सहलेस फुटबल क्लब  टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खोर्साने गोल्डकपले पहिलो संस्करणमै स्थानीय स्तरमा फुटबलप्रतिको आकर्षण बढाएको र आगामी वर्षहरूमा अझ ठूलो स्वरूप लिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *