थारु चलचित्रका पाइलट नायक परशुराम चौधरी : एक युगप्रवर्तक कलाकारको संक्षिप्त चित्र
एलएन गच्छदार / सुन्दरहरैंचा
थारु चलचित्रका पहिलो महानायक तथा बहुपक्षीय प्रतिभाका धनी परशुराम चौधरी थारु फिल्म क्षेत्रका एक युगप्रवर्तक व्यक्तित्व हुन्। वि.सं. २०४६ मा थारु भाषामा निर्मित पहिलो चलचित्र “करम” का निर्माता, निर्देशक र अभिनेता समेत रहेका चौधरीले थारु भाषामा फिल्म निर्माणको ऐतिहासिक थालनी गरे। चलचित्र निर्माण मात्र होइन, उनले नायक, सम्पादक, छायांकन तथा ध्वनि प्राविधिकको भूमिकामा समेत काम गरेर फिल्म जगतमा बहुआयामिक उपस्थिति जनाए।
चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि उनले पुल्चोक इञ्जिनियरिङ्ग क्यापस ललितपुरबाट रेडियो इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्ग, सम्पादन र ध्वनि सम्बन्धी साथै सिंगापुर र मुम्बईमा चलचित्र सम्बन्धी उच्चस्तरीय तालिम लिएका थिए। उहाँको व्यावसायिक दक्षता र सिर्जनशीलताले थारु सिनेमालाई प्राविधिक तथा कलात्मक रूपले सबल बनायो।
२०४९ सालमा आयोजित राष्ट्रिय भिडियो महोत्सवमा “करम” फिल्मले २२ विधामा मनोनयन र ७ विधामा पुरस्कार जितेर थारु चलचित्र उद्योगलाई राष्ट्रिय स्तरमा स्थापित गराएको थियो। त्यसपछि पराई भो माया , भाग्यके रेखा, बेटी, सैया भ्याल जमैया लगायत थुप्रै फिल्ममा उनले अभिनय तथा निर्देशन गरे।
थारु चलचित्र तथा सांस्कृतिक संघका एक सक्रिय नेता समेत रहेका चौधरीले झुम्कामा आयोजित थारु चलचित्र महोत्सवको अध्यक्षता गर्दै फिल्म र संस्कृतिको साझा मञ्च निर्माणमा सशक्त भूमिका निर्वाह गरेका थिए। मातृभाषा र पहिचानको संरक्षणप्रति दृढ रहँदै उनले फिल्म माध्यमलाई सांस्कृतिक समृद्धिको औजार बनाउने अठोट लिएका थिए।
उनको योगदान केवल कलामा सीमित थिएन—उहाँ थारु समुदायका लागि प्रेरक व्यक्तित्व, सिर्जनशील पथप्रदर्शक र सांस्कृतिक पहिचानका सशक्त रक्षकका रूपमा सदैव स्मरणीय रहनेछन्।परशुराम चौधरीको जीवनले देखाउँछ कि एक व्यक्तिको समर्पणले सम्पूर्ण भाषिक समुदायको सांस्कृतिक उत्थान सम्भव छ।





