सुन्दरहरैंचाको समावेशी विकासका लागि लैंगिक समानता प्राथमिकतामा: नगर प्रमुख गुरागाईं १६औं नगरसभा अधिवेशनमा नीति तथा कार्यक्रम सार्वजनिक
सुन्दरहरैंचाको समावेशी विकासका लागि लैंगिक समानता प्राथमिकतामा: नगर प्रमुख गुरागाईं
१६औं नगरसभा अधिवेशनमा नीति तथा कार्यक्रम सार्वजनिक
सुन्दरहरैंचा /अषाढ ८ गते
सुन्दरहरैंचा नगरपालिकाको १६औं नगरसभा अधिवेशनका अवसरमा नगर प्रमुख श्री केदार प्रसाद गुरागाईंले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। उक्त कार्यक्रममा विशेषगरी लैंगिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ।
नगर प्रमुख गुरागाईंले “महिलाको उद्यमशीलता र क्षमतामा अभिवृद्धि, सुन्दरहरैचाको समृद्धि” भन्ने नीतिअनुसार महिला उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। नवप्रवर्तनमा आधारित उद्यम सञ्चालन गर्ने महिला उद्यमीहरूलाई आवश्यक सहयोग तथा तालिम उपलब्ध गराइनेछ।
पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
“सुन्दरहरैचाको चाहना: पर्यटक हाम्रा पाहुना” भन्ने नारासहित स्थानीय उत्पादन र कलात्मक सामग्री प्रवर्द्धन गर्न कोसेली घर स्थापनाको आधार तयार गरिने बताइएको छ।
बालमैत्री नगरको घोषणा तयारी
नगरपालिकाले “बालमैत्री नगरको अभियान: सुन्दरहरैंचाको पहिचान” अन्तर्गत आगामी वर्षभित्र सुन्दरहरैंचालाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेको छ। यसका लागि बाँकी ६ वडाको डिजिटल बाल प्रोफाइल तयार पारिनेछ भने एक बाल उद्यान, एक बाल पुस्तकालय, र प्रत्येक वडामा एक ज्येष्ठ नागरिक चौतारी स्थापना गरिनेछ।
पीडित तथा विपन्न वर्गका लागि सामाजिक सुरक्षा
हिंसा पीडित, द्वन्द्व प्रभावित, अनाथ तथा आश्रयविहीन महिला र बालबालिकाहरूका लागि सुरक्षित आवासको व्यवस्था गरिनेछ। साथै, तिनीहरूलाई सहयोग गर्ने संस्थाहरूलाई आवश्यक अनुदान दिइने नगर प्रमुखले स्पष्ट पारे।
अपाङ्गता भएका व्यक्तिहरू, दलित र जनजातिका लागि विशेष सुविधा
अपाङ्गता भएका व्यक्तिहरूद्वारा स्थापना गरिने व्यवसायमा व्यवसाय दर्ता शुल्कमा ५० प्रतिशत छुट जारी राखिनेछ। साथै, दलित, जनजाति, आदिवासीहरूको मौलिकता झल्कने व्यवसायहरूमा व्यवसाय दर्ता निःशुल्क गरिने नीतिलाई निरन्तरता दिइनेछ।
उपमेयरसँग अन्तर्क्रिया र सीप विकासमा जोड
नगरपालिकाले महिला र युवाहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न उपमेयर अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्नेछ। साथै, CTEVT मापदण्डअनुसार सीपमूलक तालिम प्रदान गरी व्यावसायिक क्षमता अभिवृद्धि गरिने छ।
नगर प्रमुख गुरागाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समावेशी, सशक्त र न्यायपूर्ण समाज निर्माणतर्फ नगरपालिकाको प्रतिबद्धता झल्काउँछ।





