पूर्वाञ्चल पब्लिक सेकेण्डरी स्कुलमा पोषण तथा डेंगु रोकथाम सचेतना कार्यक्रम सम्पन्न
एलएन गच्छदार / सुन्दरहरैंचा, मोरङ ।
सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ स्थित सुन्दरपुर स्वास्थ्य चौकीको आयोजनामा तथा पूर्वाञ्चल पब्लिक सेकेण्डरी स्कुलको समन्वयमा विद्यार्थीहरूलाई लक्षित गरी पोषण तथा डेंगु रोग रोकथाम–नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेब डिल्लीराम कट्टेल ले डेंगु रोगको जोखिम, लक्षण, रोकथाम र नियन्त्रणका उपायबारे सहजीकरण गरेका थिए। उनले डेंगु नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै घर–आँगन, विद्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिन आग्रह गरे। प्रत्येक नागरिकले आफ्नो घरपरिसर सफा राखे डेंगुको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने उनको भनाइ थियो।
त्यसैगरी, स्वास्थ्य चौकीकी मञ्जु कत्तुवाल ले पोषणको महत्व, सन्तुलित आहार तथा बालबालिका र गर्भवती महिलाको पोषण अवस्थाको सुधार सम्बन्धी जानकारी प्रदान गरिन्। उनले स्वस्थ जीवनका लागि उचित पोषण अपरिहार्य रहेको उल्लेख गर्दै समुदायस्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइन्।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल पब्लिक सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल सन्तोष राई ले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई सामाजिक चेतना र स्वास्थ्य प्रवर्द्धनको अभियानमा समेत अग्रसर हुनुपर्ने बताए। विद्यार्थीमार्फत स्वास्थ्यसम्बन्धी सन्देश परिवार र समुदायसम्म पुर्याउन सकिने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने उनको धारणा थियो।
“स्वस्थ विद्यार्थी नै गुणस्तरीय शिक्षाको आधार हुन्,” राईले भने, “पोषण र सरसफाइबारे बालबालिकालाई सचेत बनाउन सके त्यसको सकारात्मक प्रभाव सम्पूर्ण समाजमा पुग्छ। विद्यालयले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनेछ।”
कार्यक्रमअन्तर्गत डेंगु नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो। विद्यालय परिसर तथा आसपासका क्षेत्रमा पानी जम्ने भाँडा, टायर, खाल्डाखुल्डी लगायत सम्भावित प्रजननस्थलहरूको निरीक्षण गरी सरसफाइ गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डेंगु नियन्त्रणका लागि प्रत्येक घरपरिवार र समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
वक्ताहरूले वर्षायामसँगै डेंगुको जोखिम बढ्ने भएकाले घर–आँगन तथा वरपरका क्षेत्रमा पानी जम्न नदिई नियमित सरसफाइ गर्न आग्रह गरेका थिए। कार्यक्रमले पोषण सुधार तथा डेंगु नियन्त्रणबारे विद्यार्थी र समुदायमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।





