छिनामखुमा सुन्तलाखेतीबाट वार्षिक सात लाखसम्म आम्दानी, किसानको आकर्षण बढ्दो
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती किसानको आम्दानीको प्रमुख आधार बन्दै गएको छ। कम मेहनतमै राम्रो प्रतिफल, बजारको सहज पहुँच र दीर्घकालीन उत्पादनका कारण यहाँका किसान परम्परागत अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीतर्फ आकर्षित भइरहेका छन्।
छिनामखुका किसानले बारी तथा पाखो जमिनमा सुन्तलाका बगान विस्तार गर्दै आएका छन्। वडा सदस्य जीवन राईका अनुसार उत्पादनको मात्रा, बगानको आकार र व्यवस्थापनका आधारमा किसानले वार्षिक एक लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उनका अनुसार सुन्तला खेती यहाँका किसानका लागि भरपर्दो आयआर्जनको स्रोत बनेको छ।
वडाअन्तर्गत बारताङ, छाम्लाखा, कोटाचुङ, राईखीम, ठेवा, रिठाबोटे, रातोमाटे र देवीथानलगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती हुँदै आएको छ। यहाँ उत्पादन हुने सुन्तला गुणस्तरीय भएकाले बजारमा उच्च माग रहेको किसान बताउँछन्।
सडक सञ्जालको पहुँच राम्रो भएकाले व्यापारी तथा ठेकेदारहरू सुन्तला खरिदका लागि सिधै किसानको बगानसम्म पुग्ने गरेका छन्। बगानबाटै उत्पादन बिक्री हुने भएकाले बजार व्यवस्थापनमा समस्या नरहेको स्थानीय किसान रुद्रबहादुर विष्टले बताए। उनका अनुसार सुन्तला बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार तथा अन्य आवश्यक खर्च व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ।
सुन्तलाखेतीको सम्भावनालाई मध्यनजर गर्दै वडाले उन्नत जातका बिरुवा वितरण, प्राविधिक सहयोग, तालिम तथा बगान व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको वडा अध्यक्ष बालचन्द्र राईले जानकारी दिए। उनका अनुसार वडा क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त भएकाले खेती विस्तार तीव्र गतिमा भइरहेको छ।
सुन्तलाखेतीप्रति बढ्दो आकर्षणसँगै बाँझो जमिनको उपयोग हुन थालेको छ भने स्थानीयस्तरमा रोजगारी सिर्जना र वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुगेको छ। गाउँभर फैलिएका सुन्तलाका हरिया बगानले बाह्य पर्यटक तथा आगन्तुकको ध्यानसमेत तान्ने गरेका छन्।
तर पछिल्लो समय सुन्तलामा पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो तह देखिने, पातमा दाग लाग्ने तथा बोट सुक्दै जाने समस्या बढ्न थालेको किसानको गुनासो छ। कृषि प्राविधिकहरूका अनुसार समुद्री सतहबाट ८०० देखि १,५०० मिटर उचाइसम्मको क्षेत्र सुन्तलाखेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ, जहाँ तापक्रम, माटो र वातावरणीय अवस्था उत्पादनका लागि अनुकूल हुन्छन्।
