सुन्दरहरैंचामा तीज विशेष सामूहिक विवाहित नृत्य प्रतियोगिता सम्पन्न

एलएन गच्छदार  / सुन्दरहरैंचा  – सुन्दरहरैंचा नगरपालिका–११ बेलेपुरमा सृजनशील समाजले आयोजना गरेको तीज विशेष सामूहिक विवाहित नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो। उनले तीजलाई चेलीबेटीहरूको स्वतन्त्रता, आत्म–अभिव्यक्ति र सामाजिक एकताको पर्वका रूपमा लिनुपर्नेमा जोड दिइन्।

प्रतियोगितामा विवाहित महिलाहरूका विभिन्न समूहले आकर्षक प्रस्तुति दिएका थिए। निर्णायकमा कोशी प्रदेश नृत्य निर्देशक संघका अध्यक्ष राजु बस्नेत र अमृता खड्का रहेका थिए। नतिजाअनुसार खोर्साने आमा समूह प्रथम, अक्सिजन फिट्नेस समूह दोस्रो, विष्णु पंचायन कीर्तन समूह तेस्रो र शोभा जोशी समूह सान्त्वना स्थानमा परेका छन्। विजेताहरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।

यसका अतिरिक्त तीज गीतमा सामूहिक नृत्यतर्फ गीता दाहाल उत्कृष्ट घोषित भइन्। कार्यक्रममा सृजनशील समाजका अध्यक्ष लक्ष्मी बंजगाईको सभाध्यक्षता रहेको थियो भने संस्थापक अध्यक्ष निरु बंजगाईले संस्थाले गरेका सामाजिक कार्यहरूको चर्चा गर्दै तीजलाई सामाजिक न्याय र महिलाको अधिकारसँग जोड्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा गायिका सुनिता कटुवाल र अनु बुढाथोकीको समेत आकर्षण प्रस्तुति रहेको थियो ।

सो अवसरमा सहभागीहरूले तीजलाई केवल रमाइलो र गीत–संगीतमा सीमित नराखी समाजमा न्याय नपाएका तथा पीडित महिलाहरूको आवाज बुलन्द पार्ने पर्वका रूपमा मनाउनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा स्थानीय राजनीतिकर्मी, समाजसेवी र विभिन्न समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *