केराबारी गाउँपालिकामा २२ महिलालाई सिपमूलक तालिम

एल.एन. गच्छदार

मोरङको केराबारी गाउँपालिकामा २२ जना महिलालाई सिपमूलक तालिम प्रदान गरिएको छ। सिद्धार्थ स्किल डेभलपमेन्ट प्रा.लि. को आयोजना तथा केराबारी गाउँपालिका को सहयोगमा “भेल्भेट सामग्री सजावट तथा हस्तकला तालिम” ७ दिनसम्म सञ्चालन भई बाह्रबिघे सामुदायिक वन उपभोक्ता समूहको हलमा सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रम केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा तथा सिद्धार्थ स्किल डेभलपमेन्टकी अध्यक्ष पार्वती गच्छदारको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

प्रमुख अतिथि मनमाया मगरले २२ जना महिलाले तालिमबाट सीप हासिल गरेकोमा खुशी व्यक्त गर्दै यस्तो तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने बताइन्। उहाँले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा जोड दिन आग्रह गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकी सभाध्यक्ष पार्वती गच्छदारले सहभागी महिलाहरूले तालिमबाट उपयोगी सीप हासिल गरेको उल्लेख गर्दै यसले उनीहरूको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। उहाँले महिलाहरूलाई सीपको सदुपयोग गरी स्वरोजगार बन्न प्रेरित गरिन् र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्दै यस्ता सिपमूलक तालिमले महिलाहरूको क्षमता अभिवृद्धि भई आयआर्जनमा टेवा पुग्ने बताए।

त्यस्तै वडा नं. ६ का अध्यक्ष उपेन्द्र लुङ्गेली मगरले स्थानीय तहमा यस्ता कार्यक्रमले महिलाहरूको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

महिला तथा बालबालिका शाखा प्रमुख रन्जु श्रेष्ठले तालिमले महिलाहरूमा नयाँ सीप विकास भई आत्मनिर्भर बन्ने आधार तयार भएको बताइन्।

उक्त तालिमका प्रशिक्षक मनमाया बुढाथोकीले सहभागीहरूलाई व्यवहारिक तथा प्रभावकारी तालिम प्रदान गरिएको जानकारी दिइन्।

तालिममा सहभागी एक प्रशिक्षार्थी मात्रिका दाहालले तालिम अत्यन्तै उपयोगी रहेको बताउँदै भनिन्, “हामीले यस तालिमबाट नयाँ सीप सिक्ने अवसर पाएका छौं। अब यसलाई व्यवहारमा लागू गरेर आफ्नै आम्दानीको स्रोत बनाउने आत्मविश्वास बढेको छ।”

त्यस्तै अर्की सहभागी रोजिना तमाङले यस्ता तालिमले महिलाहरूलाई घरमै बसेर पनि आयआर्जन गर्न सक्ने बनाउने उल्लेख गर्दै आगामी दिनमा थप यस्ता अवसरको अपेक्षा व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *