जोगबनी नाकाको दशगजा क्षेत्रमा घर–पसलका ढोका बन्द, तस्करी नियन्त्रणमा कडाइ

ब्रह्मदेव यादव, विराटनगर

बिहिबार, बैशाख ०३,

नेपाल भारतको सीमान्त क्षेत्र जोगबनी नाकाको नेपाल तर्फको दशगजा क्षेत्रमा रहेको घर तथा पसलको ढोका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको पटक–पटकको अनुगमनपछि जारी भएको कडा निर्देशनको पालना गराउँदै जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा दशगजा क्षेत्रको घर तथा पसलको ढोका बन्द गराइएको हो ।

विराटनगर महानगरापलिकासंग सिमाना जोडिएको नेपाल भारतको अन्तर्राष्ट्रिय सिमानाका जोगबनी नाकाको नेपालतर्फको दशगजा क्षेत्रमा चोरी–तस्करी गर्ने गराउने उद्देश्यका साथ स्थानीयवासीले घर तथा पसलमा अगाडी पछाडि दुवै तर्फ ढोका राख्ने चलन थियो । जुन ढोकाबाट नेपालबाट भारत र भारतबाट नेपालमा चोरी तस्करीको सामान सहज रूपमा आयात निर्यात भइरहेको थियो ।

नेपालमा कोभिड–१९ महामारी चलिरहेको बेला नेपाल र भारतका बासिन्दा बिच आवतजावतमा सरकारले पूर्ण रूपमा रोक लगाएको बेला दुवै देशका नागरिकसँग रुपैयाँ लिएर दशगजा क्षेत्रको घर तथा पसलबाट स्थानीयवासीले मानिसको आवतजावत गराएका थिए ।

कोभिड–१९ महामारीको बेला मात्रै दशगजा क्षेत्रका प्रत्येक घर तथा पसलका मालिकले १५ देखि २० लाख रुपैयाँसम्म रकम आर्जन गरेका थिए । यस बाहेक प्रत्येक महिना उनीहरूले तस्कर गिरोहसँग घरको ढोकाबाट सामान आयात निर्यात गर्न दिएबापत लाखौँ रुपैयाँ असुली गरिरहेका छन् ।

सीमान्त क्षेत्रमा तस्कर गिरोहले प्रहरीको सेटिङमा रातीको समयमा दशगजा क्षेत्रमा रहेको घर तथा पसलबाट मोटो रकम बराबरको सामान तस्करी भइरहेको सूचना प्रशासनले प्राप्त गरेको थियो ।

दशगजा क्षेत्रको घर तथा पसलबाट तस्करी भइरहेको सूचनाको आधारमा मोरङका प्रमुख जिल्ला अधिकारी कट्टेलले केही दिन अगाडी ती घर तथा पसलको अनुगमन गर्दा मोटो परिणाममा दालको बोरा, खाद्यान्न सामग्री र लत्ताकपडा लगायतका सामग्री फेला पारेका थिए ।

प्र.जि.अ. कट्टेलको कडा निर्देशनपछि दशगजा क्षेत्रमा रहेको घर तथा पसलको भारत तर्फ रहेको ढोका बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेको ईलाका प्रहरी कार्यालय रानी र ईलाका प्रहरी कार्यालय सीमाको प्रहरी अधिकारीको उपस्थितिमा दशगजा क्षेत्रको घर तथा पसलमा रहेको पछाडि तर्फको झ्याल तथा ढोका हटाएर इट्टा पर्खाल लगाइएको छ ।

जसको कारण सीमान्त क्षेत्रका तस्कर गिरोह सरकारसँग असन्तुष्ट रहेको तस्कर गिरोह निकट समाचार सूत्रले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *