हिमालय इङ्ग्लिस स्कुललाई ‘राइजिङ स्कुल अवार्ड २०२६’, प्रिन्सिपल खनालको अन्तर्राष्ट्रिय सफलता पनि उल्लेखनीय
सुन्दरहरैंचा (मोरङ) — सुन्दरहरैंचा–१० स्थित हिमालय इङ्ग्लिस स्कुलले ‘राइजिङ स्कुल अवार्ड २०२६’ प्राप्त गरेको छ। शिक्षा उत्कृष्टता अवार्ड २०२६ अन्तर्गत प्रदान गरिएको उक्त सम्मानले विद्यालयको शैक्षिक गुणस्तर, नवप्रवर्तन र निरन्तरको प्रयासलाई उच्च मूल्यांकन गरेको छ।
शनिबार काठमाडौँको सिनामंगलस्थित वेस्टर्न प्लस होटलमा आयोजित अवार्ड समारोहमा विद्यालयका संस्थापक तथा कोशी प्रदेश एन–प्याब्सन अध्यक्ष कमल खनालले उक्त अवार्ड ग्रहण गर्नुभएको हो। अवार्ड ग्रहण गर्दै खनालले यस उपलब्धिले विद्यालय परिवारलाई थप जिम्मेवार बनाएको बताउनुभयो।
“यो सम्मान केवल हाम्रो विद्यालयको मात्र नभई सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त मेहनतको परिणाम हो। आगामी दिनमा अझ गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्न हामी प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्ले तथा अतिथि प्रा. डा. श्रीराम भगत माथे (चेयरम्यान, जेभियर एकेडेमी) लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। एजुकेशन दैनिक, एक्सिटो एजुकेशन लगायत संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयहरूलाई सम्मान गरिएको थियो।
यसअघि पनि हिमालय इङ्ग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण सफलता हासिल गरिसक्नुभएको छ। गत असोजमा मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिनकन युनिभर्सिटीमा सम्पन्न इन्टरनेसनल एक्सिलेन्स अवार्ड कार्यक्रममा उहाँ “उत्कृष्ट प्रिन्सिपल अवार्ड” बाट सम्मानित हुनुभएको थियो।
एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित उक्त कार्यक्रममा नेपालसहित मलेसिया, फिलिपिन्स, युएसए, युके, भारत र बंगलादेशका ख्यातिप्राप्त शिक्षाविद् तथा संस्थाहरूको सहभागिता रहेको थियो। सोही मञ्चमा खनालले नेपालको प्रतिनिधित्व गर्दै शिक्षाको क्षेत्रमा पुर्याएको योगदानका लागि प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको हो।
उक्त अवसरमा खनालले “यो पुरस्कार केवल मेरो व्यक्तिगत उपलब्धि होइन, हिमालय स्कुल परिवार र सुन्दरहरैंचाको शैक्षिक समुदायको साझा गर्व हो,” भन्ने धारणा व्यक्त गर्नुभएको थियो।
पछिल्लो समय हिमालय इङ्ग्लिस स्कुलले पठन–पाठनसँगै सह–पाठ्यक्रम गतिविधिमा पनि उल्लेखनीय प्रगति गर्दै विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिँदै आएको छ। यसले सामुदायिक शिक्षा सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै स्तरका यस्ता उपलब्धिहरूले हिमालय इङ्ग्लिस स्कुललाई क्षेत्रीय मात्र होइन, व्यापक शैक्षिक वृत्तमा समेत स्थापित गराउँदै लगेका छन्।
