सुन्दरहरैंचामा वेवारिसे व्यक्तिको उद्धार, नगरपालिकाको पहल
सुन्दरहरैंचामा वेवारिसे व्यक्तिको उद्धार, नगरपालिकाको पहल
एलएन गच्छदार
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा एक वेवारिसे व्यक्ति गम्भीर अवस्थामा फेला परेका छन्। दाहिने खुट्टामा गहिरो घाउ भएको उक्त व्यक्तिलाई वडा अध्यक्ष कैलाश बस्नेतले उद्धार गरी नगर अस्पताल पुर्याएका छन्।
वडा कार्यालयको गेटनजिकै छट्पटाइरहेको अवस्थामा भेटिएका ती व्यक्तिलाई वडा अध्यक्ष बस्नेतले तत्कालै एम्बुलेन्स मगाई नगर अस्पताल पुर्याएका थिए। प्राथमिक उपचारपछि चिकित्सकहरूले खुट्टाको घाउ गम्भीर प्रकृतिको रहेको बताएका छन्।
मानसिक रूपमा कमजोर देखिएका सो व्यक्तिले आफू झापा जिल्लाको बाङ्गे घर भएको बताएका छन्। उनले आफ्नो नाम विशाल लिम्बू रहेको खुलाएका छन्। साथै, उनले लक्ष्मण लिम्बू र सानू माया लिम्बूका छोरा तथा नानू लिम्बू नेवारका पति भएको बताएको वडा कार्यालय स्रोतले जानकारी दिएको छ।
वडा कार्यालयले नगर प्रहरीसँग समन्वय गरी नगर अस्पतालमा उपचारका लागि पठाएको सिफारिस पत्र सहित नगर अस्पताल पठाएको थियो।
हाल नगरपालिकाले उनको परिवार तथा आफन्तहरूसम्म सम्पर्क गर्ने प्रयास गरिरहेको छ। यदि कसैलाई उनको बारेमा जानकारी भएमा नगरपालिकासँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
नगरप्रमुख केदार प्रसाद गुरागाईंले प्रहरीसंग सम्पर्क गरि थप उपचारका लागि बिराटनगर पठाउन पहल गरिरहेको बुझिएको छ।
