नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच उपदान तथा पेन्सन कोष सञ्चालन सम्झौता
मोरङ, चैत्र १९ – नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि उपकुलपति थपलियाले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपदान कोष सञ्चालन र व्यवस्थापनका लागि कोषसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे। साथै, कार्यकारी निर्देशक कार्कीले उपदान कोषको उचित व्यवस्थापन एवं सञ्चालन गर्दै सहभागीहरूलाई उचित प्रतिफल दिने प्रतिबद्धता जनाए।
यसैबीच, नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच प्रति कित्ता १०० रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। उक्त सम्झौतामा कोषका कार्यकारी निर्देशक कार्की र सानिगाड हाइड्रोका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे।
त्यस्तै, कोषले कालंगा हाइड्रो लिमिटेडको प्रति कित्ता १०० रुपैयाँ अंकित ४९ लाख कित्ताको ४९ करोड रुपैयाँ बराबरको सेयर प्रत्याभूति गर्ने सम्बन्धी अर्को सम्झौता पनि गरेको छ। यस सम्झौतामा कोषका कार्यकारी निर्देशक कार्की र कालंगा हाइड्रो लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन्।
यी सम्झौतासँगै नागरिक लगानी कोषले शिक्षण संस्थाको पेन्सन तथा उपदान व्यवस्थापनमा सहकार्य गर्दै हाइड्रोपावर क्षेत्रमा समेत लगानी विस्तार गरेको छ।
