दुहबीका मोतीरामको पीडा : पैसा अभावले डिस्चार्ज रोकियो, परिवार निराशा र आशाको दोहोरो यात्रामा
एलएन गच्छदार, सुन्दरहरैंचा
दुहबी नगरपालिका–१०, सिमरियाका ३२ वर्षीय मोतीराम चौधरीको घरमा सामान्य दिन बितिरहेको थियो। परिवारले उनलाई साँझतिर घर फर्किएर बचनजस्तै हाँसिलो मुहान देखाउने अपेक्षा गरेको थियो। तर असोज १५ गते आएको एक भयावह सडक दुर्घटनाले उनको मात्र होइन, पूरै परिवारको संसार एकाएक अन्धकारमा डुबायो।
दुर्घटनापछि स्थानीयले तत्कालै उद्धार गरी मोतीरामलाई बिराटनगरस्थित बिराट नर्सिङ होम पुर्याए। आपतकालीन कक्षमा चिकित्सकले दिएको पहिलो प्रतिवेदन नै पर्याप्त डरलाग्दो थियो—टाउकोमा गम्भीर चोट, मुख र शरीरका विभिन्न भागमा गहिरो क्षति, एक पटक वान्ता, र तत्काल आईसीयू केयर आवश्यक।
परिवारको सबैभन्दा कठिन यात्रा त्यही क्षणबाट सुरु भयो। उपचार सुरु भयो तर मोतीरामको अवस्था अत्यन्तै जटिल थियो। चिकित्सकहरूले अपरेसन गरे तर अपरेसनपछि पनि उनी कसैलाई चिन्न नसक्ने अवस्था कायम छ। धीरे–धीरे सुधार देखिए पनि परिवारले राहतको सास लिन पाएका छैनन्।
उनीकी श्रीमती गिता चौधरी बिल हातमा लिएर अस्पतालको कम्पाउन्डमा प्रत्येक दिन रोएर भन्छिन्- “कसरी जुटाऊँ १७ लाख? तर मेरो श्रीमान् बाँच्नैपर्छ… म हार मान्दिन।”
१७ लाखको उपचार खर्च तर घरको कोषमा शून्य, परिवारका अनुसार कुल उपचार लागत झन्डै १७ लाख रुपैयाँ पुगेको छ। यसमा यति ठूलो रकम तिर्न सक्ने आर्थिक आधार चौधरी परिवारसँग छैन। सुधार देखिँदैछ, तर पैसा अभावले डिस्चार्ज रोकियो।
यही कारण, सुधार देखिँदा–देखिँदै पनि उनी अस्पतालकै पालामा थुनिएका छन्, उपचार पाएर बाँचिएको जीवन र घर फर्किन नसकेको विवश अवस्थाबीच रोइरहेका छन्।
“हामीसँग भरपर्दो हात छैन, हामीसँग छ त केवल आशा” परिवारका एक सदस्य भन्छन्- “हामीसँग धनी हात छैन, तर आशा छ कि सबैले साथ दिन्छन्। मोतीराम जस्तै साधारण परिवारको जीवन यत्तिकै रोकिनु हुँदैन।”
परिवार, छिमेकी र स्थानीय समुदाय अहिले सहयोगका लागि सर्वसाधारणसँग अपिल गरिरहेका छन्। मोतीराम चौधरीको उपचारमा सानो–सानो सहयोग पनि ठूलो सम्बल बन्न सक्छ। मोतीराम चौधरीलाई बचाउन चाहने जो कोहीले उनकी श्रीमती गिता चौधरीको eSewa मार्फत सहयोग गर्न सक्ने परिवारको अनुरोध छ।

