निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कडाइ, आकस्मिक बिरामीलाई मात्रै सुविधा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवामा कडाइ गर्दै आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई मात्र बीमा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरी भुक्तानी दाबी गरे त्यस्ता दाबी स्वीकार नगर्ने स्पष्ट पारेको छ।
जेठ १८ गते जारी सूचनामार्फत बोर्डले सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थालाई बिरामीको स्वास्थ्य अवस्था वास्तवमै आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको भएमा मात्र आकस्मिक सेवा उपलब्ध गराउन निर्देशन दिएको हो। बोर्डका अनुसार आकस्मिक बिरामीलाई उपचारका क्रममा भर्ना गर्नुपर्ने वा शल्यक्रिया आवश्यक परेमा उपचार पद्धतिअनुसार सेवा प्रदान गरी डिस्चार्ज गर्न सकिनेछ। बोर्डले सेवाग्राहीहरूलाई पनि नियमको पूर्ण पालना गर्न आग्रह गर्दै स्वास्थ्यकर्मी वा सेवा प्रदायक संस्थामाथि अनावश्यक दबाब नदिन अनुरोध गरेको छ। 
स्वास्थ्य बीमा कार्यक्रम बढ्दो आर्थिक संकटको सामना गरिरहेका बेला बोर्डले जेठ १६ गतेदेखि अर्को व्यवस्था नभएसम्म निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका आकस्मिक स्वास्थ्य बीमा सेवामा समेत सीमितता लागू गरेको थियो। हाल ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर लामो समयदेखि निजी अस्पताललाई भुक्तानी गर्नुपर्ने ठूलो रकम बक्यौता रहँदा कार्यक्रम सञ्चालनमा समस्या बढ्दै गएको छ। निजी अस्पतालहरूले भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् भने बोर्डले वित्तीय स्रोतको अभावका कारण सेवा व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ।
सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय आर्थिक व्यवस्थापन, बक्यौता भुक्तानी र प्रशासनिक समस्याका कारण दबाबमा परेको भन्दै सरोकारवालाहरूले कार्यक्रम सुधारको आवश्यकता औंल्याएका छन्।
