हिमालय मनसुन स्काउट क्याम्प–२०८३ सुरु : अनुशासन, नेतृत्व र सेवाभाव सिकाउने अभियानमा १०० भन्दा बढी विद्यार्थी सहभागी
योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : नेपाल स्काउट स्थानीय समिति सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा हिमालय इङ्लिस स्कुल, सुन्दरहरैंचा–१० को सह–आयोजना तथा व्यवस्थापनमा ‘हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ शनिबारदेखि सुरु भएको छ।
‘प्रकृतिसँग संगत, स्काउटिङको जगत’ भन्ने मूल नाराका साथ सञ्चालन भएको क्याम्प साउन १ गतेदेखि ३ गतेसम्म हिमालय इङ्लिस स्कुल परिसरमा सञ्चालन हुनेछ। क्याम्पमा नगरभित्रका विभिन्न विद्यालयका १०० भन्दा बढी स्काउट विद्यार्थी सहभागी भएका छन्।
कार्यक्रमको अध्यक्षता नेपाल स्काउट स्थानीय समिति सुन्दरहरैंचाका स्थानीय स्काउट प्रमुख आयुक्त मनोज लामा कार्कीले गरेका थिए भने प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईं रहेका थिए। कार्यक्रमको संयोजन हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले गरेका थिए। कार्यक्रममा हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल विशेष अतिथिका रूपमा उपस्थित थिए।
‘स्काउटिङले असल नागरिक बनाउँछ’ : मनोज लामा कार्की
कार्यक्रमका अध्यक्ष मनोज लामा कार्कीले स्काउटिङ केवल अतिरिक्त क्रियाकलाप नभई जीवन जिउने कला सिकाउने अभियान भएको बताए। उनले भने,”स्काउटिङले विद्यार्थीलाई अनुशासन, नेतृत्व, आत्मनिर्भरता, सेवा र राष्ट्रप्रतिको जिम्मेवारी सिकाउँछ। आज सिकेका सीप र मूल्यले उनीहरूलाई भोलिको असल नागरिक र सक्षम नेतृत्वमा रूपान्तरण गर्नेछ।” उनले प्रकृतिसँग घुलमिल हुँदै सिक्ने अभ्यासले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
‘युवामा सकारात्मक सोच विकास गर्न स्काउटिङ आवश्यक’ : नगर प्रमुख केदार प्रसाद गुरागाईं
प्रमुख अतिथि नगर प्रमुख केदार प्रसाद गुरागाईंले नगरपालिकाले शिक्षा र युवा विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै स्काउट अभियानलाई पूर्ण सहयोग रहने बताए।
उनले भने,”आजको पुस्तालाई केवल किताबी ज्ञानले मात्र पुग्दैन। अनुशासन, नेतृत्व, सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनका व्यवहारिक सीप पनि आवश्यक छन्। स्काउटिङले यही शिक्षा दिन्छ।”उनले विद्यार्थीलाई समाजप्रति उत्तरदायी, सेवाभावी र आत्मविश्वासी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
‘किताबभन्दा बाहिरको जीवन सिकाउने क्याम्प’ : सुजन थापा
कार्यक्रमका संयोजक तथा हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले क्याम्पको उद्देश्य विद्यार्थीमा नेतृत्व क्षमता, टोली भावना, आत्मविश्वास र सेवाको संस्कार विकास गर्नु रहेको बताए।
उनले भने,”तीन दिनसम्म सहभागी विद्यार्थीहरूले स्काउटिङका आधारभूत सिद्धान्त, प्राथमिक उपचार, गाँठो बाँध्ने कला, विपद् व्यवस्थापन, क्याम्प क्राफ्ट, टोली नेतृत्व, अनुशासन तथा प्रकृतिसँग सहकार्य गर्दै सिकाइका विविध गतिविधिमा सहभागिता जनाउनेछन्।” उनका अनुसार क्याम्पले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक जीवनका सीप सिकाउनेछ।
‘स्काउटिङ जीवनभर उपयोगी शिक्षा हो’ : कमल खनाल
हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले विद्यालयले शैक्षिक उपलब्धिसँगै चरित्र निर्माणलाई पनि समान महत्व दिएको बताए।
उनले भने,”विद्यालयको उद्देश्य केवल राम्रो नतिजा निकाल्नु मात्र होइन, असल चरित्र, अनुशासित व्यवहार र सेवाभाव भएका नागरिक तयार गर्नु पनि हो। स्काउटिङले यही मूल्यलाई व्यवहारमा उतार्ने अवसर दिन्छ।” उनले भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
विविध प्रशिक्षण र व्यवहारिक अभ्यास
क्याम्प अवधिभर सहभागी विद्यार्थीलाई प्राथमिक उपचार, विपद् व्यवस्थापन, क्याम्पिङ, टोली निर्माण, अनुशासन, नेतृत्व विकास, वातावरण संरक्षण, सरसफाइ, सेवा भावना, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमार्फत व्यवहारिक प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस्ता क्याम्पले विद्यार्थीमा आत्मविश्वास, सहकार्य, समय व्यवस्थापन, समस्या समाधान गर्ने क्षमता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रममा शिक्षक, अभिभावक, स्काउट पदाधिकारी, विभिन्न विद्यालयका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
