मिटरब्याज पीडित र सरकारबीच तेस्रो चरणको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच बुधबार साँझ भएको तेस्रो चरणको वार्ता निष्कर्षविहीन टुंगिएको छ। दुवै पक्षबीच सहमति जुट्न नसकेपछि पीडितहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने अडान दोहोर्‍याएका छन्।

बाराको निजगढमा भएको वार्तामा सरकारी टोलीले आन्दोलन स्थगित गरेर काठमाडौंमा अन्तिम सहमति गर्ने प्रस्ताव अघि सारेको थियो। तर मिटरब्याज पीडितहरूले लिखित सहमति र हस्ताक्षर नभएसम्म आन्दोलन स्थगित गर्न नसकिने स्पष्ट पारेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री सुधन गुरुङले सहमतिको वातावरण बनाउन आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए। तर पीडित पक्षले सम्झौतामा हस्ताक्षर भएपछि मात्रै आन्दोलन रोकिने अडान राखेको जनाएको छ।

जेनेजी अभियन्ता लक्ष्मी घिमिरेका अनुसार वार्तामा सहमति हुन नसकेकाले आन्दोलन पूर्ववत् जारी रहनेछ। उनका अनुसार दुवै पक्षबीच संवाद जारी राख्ने सहमति भए पनि तत्काल कुनै निष्कर्ष निस्किएको छैन।

मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले आन्दोलन स्थगित नगरी वार्ता र संघर्षलाई सँगसँगै अघि बढाउने निर्णयमा आफूहरू दृढ रहेको बताए। उनले सचिवालय बैठकपछि आन्दोलनका आगामी कार्यक्रम तय गरिने जानकारी दिए।

पीडित पक्षका अनुसार सरकार अधिकांश मागमा सकारात्मक देखिए पनि सहमति पत्रका केही भाषागत विषयमा थप छलफल आवश्यक रहेको जनाएको छ। सरकारी पक्षले अन्तिम सम्झौता काठमाडौंमा गर्ने प्रस्ताव राखेको थियो।

मिटरब्याज पीडितहरू आफ्ना माग पूरा गराउन जनकपुरबाट स्थलमार्ग हुँदै काठमाडौंतर्फ आन्दोलनरत छन्। उनीहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ स्वयं बारा पुगेका थिए र यसअघि दुई चरणको वार्तामा पनि सहभागी भएका थिए। यद्यपि हालसम्म दुवै पक्षबीच औपचारिक सहमति हुन सकेको छैन।

पीडितहरूले हस्ताक्षर भएको मितिदेखि मात्रै सम्झौता कार्यान्वयन हुने भएकाले आधिकारिक रूपमा हस्ताक्षर गरिएको लिखित सहमति प्राप्त नभएसम्म आन्दोलन नरोकिने अडान दोहोर्‍याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *