बसाइँसराइले रित्तिँदै लमजुङका गाउँ, कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रमा बढ्दो चुनौती

लमजुङ । रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको खोजीमा युवा पुस्ता सहर तथा विदेश पलायन हुन थालेपछि लमजुङका धेरै ग्रामीण बस्ती क्रमशः रित्तिँदै गएका छन्। सडक, बिजुली, खानेपानी र सञ्चारजस्ता आधारभूत सुविधा पुगे पनि गाउँमा जनघनत्व घट्दै जाँदा कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रमा गम्भीर असर देखिन थालेको छ।

कुनै समय चहलपहलले भरिएका गाउँहरू अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, जीर्ण बन्दै गएका घर र बाँझो जमिनले बसाइँसराइको बढ्दो प्रभाव झल्काउँछन्।

दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको ऐतिहासिक नेवार बस्ती यसको प्रतिनिधि उदाहरण बनेको छ। केही दशकअघिसम्म बाक्लो बसोबास रहेको बस्ती अहिले पातलिँदै गएको छ। धेरै घर खाली छन् भने केही जीर्ण अवस्थामा पुगेका छन्।

स्थानीय ८५ वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि साँझसम्म चहलपहल हुने, चाडपर्व, मेलापात र सामाजिक कार्यमा सबै गाउँले सक्रिय सहभागी हुने वातावरण थियो। अहिले अधिकांश युवा गाउँ छाडेपछि त्यस्तो सामाजिक एकता र उत्साह हराउँदै गएको उनी बताउँछन्।राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ। स्थानीय लालमाया श्रेष्ठका अनुसार सुविधा विस्तार भए पनि गाउँमा बस्ने मानिसको संख्या निरन्तर घट्दै गएको छ।

बसाइँसराइको प्रत्यक्ष असर कृषि क्षेत्रमा पनि परेको छ। कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा जनशक्ति बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ। त्यसका कारण ठूलो परिमाणमा खेतीयोग्य जमिन बाँझो रहनुका साथै कृषि उत्पादनमा समेत कमी आएको छ। पुस्तौंदेखि चलिआएका रैथाने बाली, परम्परागत खेती प्रणाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन बन्दै गएको उनले बताए।

कार्यालयका अनुसार जिल्लामा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्रै खेती भइरहेको छ भने १६ हजार ६२ हेक्टर जमिन बाँझो रहेको छ। सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँमा पनि बसाइँसराइको प्रभाव स्पष्ट देखिएको छ। स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ, जसले कृषि, सामाजिक गतिविधि र सांस्कृतिक परम्परामा प्रत्यक्ष असर पारेको छ।

जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालका अनुसार गाउँ रित्तिनु केवल जनसंख्या घट्ने विषय मात्र नभई सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती पनि हो। युवा पुस्ता गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान संरक्षण गर्न कठिन हुँदै गएको उनले बताइन्।

दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङले गाउँमा जनसंख्या टिकाइराख्न आयआर्जनका अवसर विस्तार गर्नु अपरिहार्य रहेको बताए। गाउँपालिकाले कृषि आधुनिकीकरण, घरबास (होमस्टे) प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए।

दोर्दी क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यलाई पर्यटनसँग जोड्दै स्थानीय रोजगारी सिर्जना गर्ने प्रयास भइरहेको छ। साथै कफी, खुर्सानीलगायत नगदे बालीको उत्पादन विस्तार गरेर किसानको आय वृद्धि गर्ने योजना अघि बढाइएको छ। राष्ट्रिय जनगणना २०७८ ले देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दो रहेको देखाएको छ, जसको प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको छ।

सरोकारवालाहरूका अनुसार गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि र रोजगारीका अवसर विस्तार गर्न आवश्यक छ। अन्यथा, रित्तिँदै गएका गाउँहरू भविष्यमा इतिहासका पानामा सीमित हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *