राजश्व कार्यालयका नक्कली कर्मचारी बनेर रकम असुली गर्ने ८ जना पक्राउ
काठमाडौं । काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुली गर्ने ८ जना पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम उठाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको पाइएको छ ।
उनीहरूले ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।
उनीहरूले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ । स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।उनीहरूविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
