६७० मेगावाटको दूधकोशी आयोजना कार्यान्वयनतर्फ, स्थानीयमा उत्साह
खोटाङ । चार दशकभन्दा लामो समयदेखि अध्ययन र चर्चामै सीमित रहेको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आयोजनालाई प्राथमिकतासाथ समावेश गर्दै ठेक्का प्रक्रिया अघि बढाउने घोषणा गरेपछि आयोजना निर्माणको बाटो खुल्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो परियोजना खोटाङ र ओखलढुङ्गाको सीमास्थित रभुँवाघाट क्षेत्रमा निर्माण गरिनेछ।
करिब ४३ वर्षअघि प्रारम्भिक अध्ययन गरिएको यो आयोजना निर्माणका लागि एसियाली विकास बैंक (एडिबी) लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले लगानी चासो देखाइसकेका छन्। आयोजना सञ्चालनका लागि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा पर्ने करिब २५ हजार रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ, जसमा करिब २० हजार रोपनी निजी स्वामित्वको जग्गा पर्ने अनुमान छ।
जग्गा मुआब्जा निर्धारणमा ढिलाइ र बजेट अभावका कारण लामो समयदेखि प्रभावित क्षेत्रका बासिन्दामा अन्योल बढ्दै गएको थियो। सरकारले जग्गा किनबेचमा रोक लगाए पनि मुआब्जा टुंगो लगाउन नसक्दा स्थानीयवासी असन्तुष्ट थिए। तर बजेटमा आयोजना समावेश भएसँगै प्रभावित क्षेत्रका नागरिकले निर्माण प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरेका छन्।
प्रारम्भिक अध्ययनअनुसार आयोजना निर्माण हुँदा १६२ परिवार पूर्णरूपमा विस्थापित हुने तथा ९८८ परिवार आंशिक रूपमा प्रभावित हुनेछन्। साथै, एक हजारभन्दा बढी परिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने अनुमान गरिएको छ।
रभुँवाघाटमा २२० मिटर अग्लो बाँध निर्माण गरी जलाशय बनाइने र त्यहाँबाट सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङ क्षेत्रमा पानी झारेर विद्युत् उत्पादन गरिने योजना छ। आयोजना सम्पन्न भएपछि वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणको अनुमान छ।
ऊर्जा उत्पादनसँगै जलाशय क्षेत्रमा पर्यटन, डुङ्गा सयर, माछापालन तथा स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। हलेसी र सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको आयोजनालाई पूर्वी नेपालको आर्थिक विकाससँग जोडेर हेरिएको छ।





