भारतबाट सिकेको सीप, झापामा पहिलोपटक ठूलो परिमाणमा मखना खेती

झापा । धान र मकै उत्पादनका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलोपटक ठूलो परिमाणमा व्यावसायिक मखना खेती सुरु गरिएको छ। परम्परागत खेतीबाट फरक बाटो रोज्दै एक युवा कृषकले २० बिघा क्षेत्रफलमा मखना उत्पादन थालेपछि यो खेती यतिबेला स्थानीय किसान र कृषि क्षेत्रको चासोको केन्द्र बनेको छ।

कचनकवल गाउँपालिका–४ का ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको विहारमा प्रयोग भइरहेको प्रविधि अध्ययन गरेर नेपालमै पहिलोपटक व्यावसायिक रूपमा मखना खेती थालेका हुन्। धान फल्ने खेतमा पानी जमाएर गरिएको यो खेतीलाई स्थानीयले कृषि क्षेत्रमा नयाँ सम्भावनाको रूपमा हेर्न थालेका छन्।

राजवंशीले १० वर्षका लागि भाडामा लिएको जमिनमा ठूलो लगानीसहित मखना खेती सुरु गरेका हुन्। उनका अनुसार बिउ, प्राविधिक ज्ञान र अन्य आवश्यक सामग्री भारतबाट ल्याउँदा हालसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसकेको छ।

पानीमा फल्ने कमल प्रजातिको वनस्पति मखना उत्पादन हुन करिब आठ महिना लाग्ने गर्दछ। खेती सुरु गर्न खेतको विशेष तयारी, बलिया आली निर्माण तथा निरन्तर पानीको व्यवस्थापन आवश्यक पर्ने भएकाले यो खेती श्रम, समय र लगानी बढी लाग्ने खेतीका रूपमा चिनिन्छ।

यद्यपि उत्पादन सफल भएमा प्रतिविघा तीन लाख रुपैयाँसम्म नाफा लिन सकिने सम्भावना रहेको कृषक राजवंशीको दाबी छ। उनले उत्पादनलाई भारत निर्यात गर्न सके आर्थिक रूपमा अझ बढी लाभ लिन सकिने बताएका छन्।

मखना धार्मिक र स्वास्थ्य दुवै दृष्टिले महत्वपूर्ण खाद्य पदार्थ मानिन्छ। प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम तथा अन्य पोषक तत्वले भरिपूर्ण भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्दो छ। रासायनिक मल र विषादीको प्रयोग नगरी उत्पादन गर्न सकिने भएकाले यसलाई ‘सुपर फुड’ तथा ‘अर्गानिक खाद्य’को रूपमा समेत चिनिन्छ।

सरकारी सहयोगबिना आफ्नै लगानीमा खेती सुरु गरेका राजवंशीले उत्पादनपछि बजार व्यवस्थापन र निर्यात प्रक्रियामा सरकारी सहजीकरण आवश्यक रहेको बताएका छन्। उनको यो प्रयास सफल भए झापासहित तराईका अन्य जिल्लामा समेत मखना खेती विस्तार हुने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *