द राइजिङ इङ्लिस स्कुल : स्वागतसँगै भविष्य निर्माणको बाटो
✍️ एलएन गच्छदार
मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित द राइजिङ इङ्लिस स्कुलले अभिमुखीकरण तथा स्वागत कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ। नयाँ सत्रसँगै विद्यालयले आयोजना गरेको यो कार्यक्रमले केवल कक्षाकोठाभित्रको पढाइ–लेखाइ मात्र नभई विद्यार्थीको प्रतिभा, संस्कार र सृजनशीलतालाई समेत उजागर गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल गोपाल पाठकले शिक्षा जीवन रूपान्तरण गर्ने शक्तिशाली साधन भएको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचसहित अध्ययनमा निरन्तर लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक वातावरण सिर्जना गर्ने दृढता पनि व्यक्त गर्नुभयो।
भाइस प्रिन्सिपल परशुराम गुरागाईले नयाँ विद्यार्थीलाई विद्यालय परिवारको अभिन्न हिस्सा बनेर जिम्मेवार र सक्षम नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले शैक्षिक उपलब्धिसँगै सह–पाठ्यक्रम क्रियाकलापलाई पनि उतिकै महत्व दिइने बताउँदै, “विद्यार्थीको वास्तविक क्षमता बाहिर ल्याउन अतिरिक्त गतिविधि अपरिहार्य हुन्छ,” भन्नुभयो।
कार्यक्रमलाई विद्यार्थीको विविध सांगीतिक प्रस्तुति, नृत्य, कविता वाचन तथा विभिन्न भेषभूषामा प्रस्तुत गरिएको जातीय नृत्यहरूले थप रौनकता प्रदान गरे। कक्षा–११ मा भर्ना भएका विद्यार्थीलाई विशेष स्वागत गरिँदा वातावरण अझै भावनात्मक र उत्साहपूर्ण बनेको थियो।
विद्यालयमा हाल कक्षा–११ र १२ मा होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजिनेस स्टडिज लगायतका संकाय सञ्चालनमा रहेका छन्। यी संकायमार्फत विद्यार्थीलाई स्थानीय स्तरमै उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै भविष्यमा रोजगारी र उद्यमशीलताको मार्गप्रशस्त गर्ने विद्यालयको लक्ष्य रहेको प्रिन्सिपल पाठकले जानकारी दिनुभयो।
द राइजिङ इङ्लिस स्कुलले आयोजना गरेको यो कार्यक्रम केवल स्वागत मात्र नभई विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ अभिमुख गराउने प्रस्थानबिन्दु बनेको छ। शिक्षा, संस्कार र सृजनशीलतालाई एउटै मञ्चमा समेट्ने यस किसिमका कार्यक्रमहरूले सुन्दरहरैंचाको शैक्षिक वातावरणलाई अझै उर्जा प्रदान गरेको छ।
