मिसन स्थानीय चुनावमा एमाले नेताहरूको नयाँ जिम्मेवारी आज टुंगिने
काठमाडौं । नेकपा एमाले ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राख्दै नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको छ । यही उद्देश्यसहित पार्टीको केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बस्दैछ ।
पार्टी अध्यक्ष ओलीले जेठ ५ गतेको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्दै नेताहरूको जिम्मेवारी हेरफेरलाई अन्तिम रूप दिन लागिएको हो । बैठकपछि अन्तरपार्टी निर्देशन मार्फत नयाँ जिम्मेवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।
डा. भीष्म अधिकारी का अनुसार बैठक बिहान ११ः३० बजे सुरु हुनेछ । एमालेले ११औँ महाधिवेशनपछि गरेको अस्थायी कार्यविभाजनलाई अब स्थायी ढाँचामा रूपान्तरण गर्न लागेको बताइएको छ ।यसपटकको कार्यविभाजनमा पार्टीका मुख्य विभागहरूमा नयाँ नेतृत्व प्रस्ताव गरिएको छ । अध्यक्ष ओलीको प्रस्तावअनुसार भानुभक्त ढकाल लाई संगठन विभाग, शेरबहादुर तामाङ लाई स्कुल विभाग, विशाल भट्टराई लाई जनसंगठन विभाग तथा डा. सूर्य पाठक लाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।
पार्टी स्रोतका अनुसार उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभागको समन्वय तथा अनुगमनको जिम्मेवारी दिने तयारी पनि गरिएको छ । अधिकांश केन्द्रीय सदस्यलाई भने ‘मिसन स्थानीय चुनाव’ अभियानअन्तर्गत संगठन विस्तार र निर्वाचन केन्द्रित जिम्मेवारीमा खटाइने भएको छ । गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न एमालेको ११औँ महाधिवेशनपछि फागुन २१ को आन्तरिक निर्वाचनलाई लक्षित गर्दै अस्थायी रूपमा जिम्मेवारी बाँडफाँट गरिएको थियो । अहिलेको पुनःसंरचनालाई एमालेले आगामी निर्वाचन रणनीतिसँग जोडेर हेरेको छ ।
