बिदाकै दिन लाइसेन्स वितरण, इटहरी कार्यालयले सुरु गर्दै विशेष सेवा अभियान
सुनसरी । सेवाग्राहीको चाप व्यवस्थापन गर्दै सवारी चालक अनुमति–पत्र वितरणलाई छिटो, सहज र व्यवस्थित बनाउन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति–पत्र ले सार्वजनिक बिदाकै दिन विशेष सेवा अभियान सञ्चालन गर्ने भएको छ ।
कार्यालयले ठूलो संख्यामा थन्किएका लाइसेन्स वितरणलाई प्राथमिकता दिँदै आगामी शनिबार र आइतबार पनि सेवा खुला राख्ने निर्णय गरेको हो । विशेष अभियानअन्तर्गत बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाइसेन्स वितरण गरिने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सेवाग्राहीले कार्यालय पुग्नुअघि आफ्नो नाम र लाइसेन्स नम्बर आधिकारिक फेसबुक पेज वा वेबसाइटमार्फत सुनिश्चित गर्नुपर्नेछ । यसले अनावश्यक भीड कम गर्नुका साथै सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
लाइसेन्स लिन आउँदा राजस्व तिरेको सक्कल रसिद, पुरानो लाइसेन्स तथा नागरिकताको सक्कल प्रमाण–पत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यदि रसिद वा पुरानो लाइसेन्स हराएको भए सम्बन्धित ट्राफिक कार्यालयको सिफारिस आवश्यक पर्ने कार्यालयले स्पष्ट पारेको छ ।
कार्यालयले तोकिएको समय र बारअनुसार उपस्थित भएर सेवा लिन तथा लाइन व्यवस्थापन र अनुशासन कायम गर्न सेवाग्राहीसँग आग्रह गरेको छ । पछिल्लो समय लाइसेन्स वितरणमा बढ्दो भीड र ढिलाइको गुनासो बढिरहेका बेला बिदाकै दिन सेवा सञ्चालन गर्ने निर्णयलाई सेवाग्राहीमैत्री प्रयासका रूपमा हेरिएको छ ।





