बारामा रास्वपाभित्र विवाद चर्कियो, जिल्ला सभापति स्वर्णकारको सदस्यता खारेज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले बारा जिल्ला सभापति चन्दन स्वर्णकार को पार्टी सदस्यता खारेज गरेपछि बारामा पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको छ । जिल्ला नेतृत्व र सांसदबीच लामो समयदेखि चलिरहेको मतभेद अन्ततः कारबाहीसम्म पुगेको हो ।
पार्टीको केन्द्रीय संगठन विभागले स्वर्णकारलाई पत्र पठाउँदै साधारण सदस्यसमेत नरहने गरी सदस्यता खारेज गरिएको जानकारी दिएको छ । संगठन विभागका सचिव शंकर श्रेष्ठ ले हस्ताक्षर गरेको पत्रमा अनुशासन आयोगमा परेको उजुरीका आधारमा कारबाही गरिएको उल्लेख छ । रास्वपाका अनुसार बाराबाट निर्वाचित चार जना सांसदले स्वर्णकारविरुद्ध आर्थिक अनियमितता, पार्टी संगठन प्रभावकारी रूपमा परिचालन नगरेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा सक्रिय भएको आरोप लगाउँदै उजुरी दिएका थिए । सोही उजुरीमाथि छानबिनपछि कारबाही प्रक्रिया अघि बढाइएको पार्टी स्रोतले जनाएको छ ।
यससँगै रास्वपाले बारा जिल्ला समिति भंग गरेर नयाँ समिति गठनको प्रक्रिया पनि सुरु गरेको छ । पार्टी नेताहरूका अनुसार केन्द्रबाट नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिसमेत खटाइसकिएको छ ।
यता, पार्टीबाट निष्कासित भएपछि स्वर्णकारले भने आफूलाई योजनाबद्ध रूपमा हटाइएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत कारबाही पत्र सार्वजनिक गर्दै उनले आफ्नो “राजनीतिक हत्या” गरिएको टिप्पणी गरेका छन् । तथ्य र प्रमाणलाई बेवास्ता गर्दै निष्पक्ष छानबिनबिनै मलाई हटाइयो,” उनले फेसबुकमा लेखेका छन्, “जेठ ९ गतेको विस्तारित बैठक र अधिवेशनअघि मलाई सदस्यतामै नरहने गरी हटाइनु संयोग होइन ।
स्वर्णकारले अधिवेशनमार्फत आफू पुनः जिल्ला सभापतिमा निर्वाचित हुन सक्ने डरले सांसदहरूको दबाबमा केन्द्रले आफूलाई निष्कासन गरेको आरोपसमेत लगाएका छन् । बारामा पछिल्लो घटनाक्रमले रास्वपाभित्र संगठनात्मक विवाद र शक्ति संघर्ष थप सतहमा ल्याएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
