आज जनयुद्ध दिवसमा सार्वजनिक बिदा, चौतर्फी आलोचना

काठमाडौं । सरकारले आज (सोमबार) जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज (फागुन १ गते) जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने घोषणा गरेको हो । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्याय जस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको सरकारले बताएको छ । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

आजको सार्वजनिक विदाको राज्य पक्षबाटै चौतर्फी विरोध गरिएको छ । सत्ता साझेदार दलका नेता–कार्यकर्ताले नै उक्त निर्णयको विरोध गरेका छन् । नागरिकस्तरबाट पनि चर्को विरोध गरिएको छ । सार्वजनिक विदाको निर्णय गर्ने वैठकमा सत्ता साझेदार राप्रपाका मन्त्रीहरु उपस्थित भएनन् भने एमालेले विरोध जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ