सिद्धार्थ युवा क्लब : समाजसेवामा समर्पित युवाको साझा थलो

 एलएन गच्छदार /   मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नं.–६ मा अवस्थित सिद्धार्थ युवा क्लबले हालै आफ्नै क्लब घरको सरसफाइ तथा रङ्ग–रोगन सम्पन्न गरेको छ। श्रमदानमार्फत क्लबका युवाहरू एकजुट भई घरआँगन सफा मात्र नभई समाज सफाइको सन्देश दिन सक्रिय भएको दृश्य निकै प्रेरणादायी देखिन्थ्यो।

क्लबका अध्यक्ष संजीत राईले क्लबको गतिविधि समाजप्रति जिम्मेवार युवा नेतृत्वको उदाहरण भएको उल्लेख गर्दै भने, “हामीले युवालाई नेतृत्वदायी भूमिकामा ल्याएर समाजिक कार्यलाई प्राथमिकता दिएका छौँ। हाम्रो उद्देश्य केवल मनोरञ्जन वा सीमित गतिविधिमा सीमित छैन, हामी समाजका वास्तविक आवश्यकता सम्बोधन गर्न जुटिरहेका छौँ।”

क्लबले स्थानीय बिरामीलाई नि:शुल्क अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स सेवा, विपतमा  राहत वितरण, नियमित सरसफाइ अभियान लगायतका कार्य गर्दै आएको छ। साथै, प्रत्येक वर्ष क्लबले सांगीतिक कार्यक्रमको आयोजना गरी उठेको रकमलाई समाजोपयोगी काममा खर्च गर्ने परम्परा बनाएको छ।

क्लबका सल्लाहकार डम्बर थापा मगरले भने, “सिद्धार्थ युवा क्लबले गरेको कामले आजका युवापुस्तालाई समाजप्रति उत्तरदायी बन्न सिकाएको छ। क्लबले देखाएको सक्रियता अन्य संस्थाले समेत अनुकरण गर्न सक्ने खालको छ। हामीले देखेको सपना भनेको यो क्षेत्रलाई केवल भौतिक मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले समेत समृद्ध बनाउनु हो।”

स्थानीयवासीहरू पनि क्लबले गरेको समाजिक योगदानको खुलेर प्रशंसा गर्ने गर्छन्। विशेष गरी आपतकालीन अवस्थामा एम्बुलेन्स सेवा र विपतको    समयमा राहत पुर्‍याउने गतिविधिले क्लबलाई “जनताको आफ्नै संस्था” को रूपमा स्थापित गरेको छ। यसरी हेर्दा, सिद्धार्थ युवा क्लब केवल एक खेल वा मनोरञ्जन केन्द्र नभई समाजलाई नेतृत्व दिने, युवा शक्ति परिचालन गर्ने र सामुदायिक विकासमा हातेमालो गर्ने साझा थलोको रूपमा उदाउँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *