विराटनगरमा कांग्रेस संस्थापन इतर पक्षको शक्ति प्रदर्शन, कोइराला–सिटौला–गच्छदार एउटै मञ्चमा
विराटनगर / नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीभित्र देखिएका सांगठनिक कमजोरी सुधार गर्न दबाब दिने उद्देश्यसहित आइतबार विराटनगरमा बृहत् भेला आयोजना गर्ने भएको छ। भेलालाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।
भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार आइतबार बिहान ११ बजे हुने कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चबाट सम्बोधन गर्नेछन्। कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहने जनाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राईले पार्टी विभिन्न गुट–उपगुटमा विभाजित भएको र नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए। उनले आफूहरू कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाउन दबाब समूहका रूपमा उभिएको बताए।
“कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई एकढिक्का बनाउन हाम्रो प्रयास हो। नेतृत्वले यथार्थमा रहेर पार्टीभित्रका समस्या समाधान गर्ने साहस देखाउनुपर्छ,” उनले भने।
यसैगरी, इतर पक्षका नेताहरूले पार्टीमा जारी क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वमुख्यमन्त्री केदार कार्कीले सदस्यता अध्यावधिक प्रक्रिया प्राविधिक रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै यसले पार्टीको छविमा असर पुग्ने बताए।
उनले महाधिवेशनको मिति पटक–पटक सारिँदा कार्यकर्तामा अन्योल सिर्जना भएको उल्लेख गर्दै अहिलेको प्रक्रियाले विगतमा कांग्रेसविरुद्ध बागी उम्मेदवार बनेका वा अन्य चुनाव चिह्नबाट चुनाव लडेका व्यक्तिलाई समेत सहज रूपमा पार्टीमा प्रवेश गराउने अवस्था सिर्जना गरेको आरोप लगाए। कार्कीले यस्तो प्रक्रियाले पुराना तथा निष्ठावान कार्यकर्ताको मनोबल घटाउने र १५औँ महाधिवेशनलाई प्रभावित पार्ने प्रयास भइरहेको दाबी गरे।
पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर तथा मोरङ कांग्रेसका जिल्ला उपसभापति नागेश कोइराला, नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईँलगायत स्थानीय नेताहरूको उपस्थिति थियो। उनीहरूले आइतबारको भेला पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउने र नेतृत्वलाई थप जवाफदेही बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
