प्रदेश–१ को नाम कोसी राख्न कांग्रेस–एमाले एकमत : माओवादी लगायतले मानेनन् , सुरक्षा ब्यवस्था कडा

इटहरी । प्रदेश नम्बर–१ प्रदेशसभाको आजको बैठकमा प्रदेश–१ को नाम प्रस्ताव गरिने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभा सचिवालय आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सचिवालय पूर्वपट्टिको देवकोटा चोक र पश्चिममा अस्पताल चोकबाट सवारी आउजाउमा रोक लगाइएको छ ।

प्रदेशको नाम जातीय पहिचानका आधारमा राख्ने वा भूगोलका आधारमा भन्ने विषयमा दलहरू विभाजित छन् । सोही कारण सम्भावित प्रदर्शन र विरोध रोक्न सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रदेशसभा भवन प्रवेशमा समेत कडाइ गरिएको छ । प्रदेशसभा सदस्यका सवारीसाधन बाहिरै पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

प्रदेश–१ को नाम कोसी राख्न कांग्रेस–एमाले एकमत, साना दलको फरक मत

प्रदेश–१ संसदमा प्रतिनिधित्व गर्ने दलहरुको छुट्टाछुट्टै बैठक शुरु भएको छ । सत्ताधारी दल नेकपा एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलको बैठक प्रदेश सभाको कार्यलयमा सुरु भएको हो ।

तीन दलको छुट्टाछुट्टै बैठकले आफ्न दलभित्र नामाकरणको प्रस्तावलाई सर्वसम्मत समर्थन गरेर जाने निर्णय गराउने बताइएको छ । सरकारको नेतृत्वमा गरेको एमाले, सरकारमा समेल माओवादी र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसबीच कोसी नाम प्रदेश सभामा लैजाने यसअघि नै सहमति भएको बताइएको छ । यता साना दलहरुले भने कोसी नाममा फरक मत राख्दै आएका छन् ।

प्रदेश सभाको आजको बैठकमा प्रदेशको नामाकरण प्रदेश सभामा लैजाने कार्यसूची रहेको छ । जसमा माओवादी केन्द्रका संसद रामराना मगर प्रस्तावक रहने बताइएको छ । दलहरुको बैठकपछि नामाकरणको कार्यसूची रहेको प्रदेश सभाको बैठक बस्ने भएको छ ।

दलहरुको बैठक बसिरहेकाले १२ बजे बस्ने भनिएको प्रदेश सभा बैठक १ घण्टा सारिएको छ । १२ बजेबाट सुरु हुने सभा १ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जानाएको छ । प्रदेश सभाका दलहरूको बैठक नसकिएकोले प्रदेशसभा सुरु हुन ढिलो भएको हो । सभाको निर्धारित बैठक मध्याह्न १२ बजेका लागि तोकिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ