२ महिनाभित्र पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस पढाइ सुरु हुने
सुन्दरहरैंचा – पूर्वाञ्चल विश्वविद्यालयमा पहिलोपटक एमबीबीएस कार्यक्रम संचालन हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजु कुमार थपलियाका अनुसार आवश्यक पूर्वाधार, जनशक्ति र गुणस्तर प्रमाणीकरण सम्बन्धी तयारी तीव्र गतिमा अगाडि बढाइएको छ, र आगामी २ महिनाभित्र एमबीबीएस पढाइ औपचारिक रूपमा सुरु हुने छ।
थपलियाले स्वास्थ्य विज्ञान शिक्षामा स्वावलम्बन र पूर्वी नेपालका विद्यार्थीसँगै सामान्य नागरिकलाई गुणस्तरीय चिकित्सक उत्पादनका लागि विश्वविद्यालय प्रतिबद्ध रहेको बताएका छन्। उनका अनुसार अस्पताल विस्तार, प्रयोगशाला सुधार, शैक्षिक पाठ्यक्रम तथा चिकित्सक प्रशिक्षकहरूको व्यवस्थापन पूरा भइसकेको छ।
“पूर्वाञ्चल विश्वविद्यालय अब स्वास्थ्य शिक्षा क्षेत्रको नयाँ केन्द्र बन्नेछ। हामी स्थानीय स्तरमै विश्वस्तरीय मेडिकल शिक्षा उपलब्ध गराउन चाहन्छौं,” उपकुलपति थपलियाले भने।
यससँगै, पूर्वी नेपालका विद्यार्थीलाई काठमाडौँ वा विदेश जानुपर्ने बाध्यता कम हुने र स्थानीय स्वास्थ्य सेवा प्रणाली पनि बलियो बन्ने अपेक्षा गरिएको छ।
